भदौ २१ । झापामा आज बिहानै एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । झापा मेचीनगर–९ स्थीत मागुरमाडी जंगलको छेउमा रहेको धान खेतमा हात्ती मृत अवस्थामा फेला परेको हो ।
बिहान जंगलमा च्याउ टिप्न जाने स्थानीयले धान खेतमा हात्ती लडिरहेको देखे पछि तत्काल प्रहरीलाई खबर गरेका थिए । कुनै कारणबाट करेन्ट लागेर त्यस ठाउँमा आएर हात्ती मरेको हुन सक्ने जिल्ला वन कार्यालय झापाका सहायक वन अधिकृतले बताउनु भयो ।
मरेको हात्ती करीब २५ बर्ष उमेरको भएको यादबले बताउनु भयो । मागुरमाडी वन क्षेत्रकै रैथाने हात्ती भएकाले एक्लै हिडडुल गर्ने क्रममा कहिं कतै जंगली जनावरबाट सुरक्षित रहन करेन्टको तारबारमा लागेर हात्ती गभ्भिर घाईते भएको र रन्थनिएर त्यस ठाउँमा आएर मरेको हुन सक्ने यादबले जानकारी दिनुभयो ।
स्थानीयहरु मृत हात्तीको शरिर र पुच्चरको रौं निकाल्दै ।
जिल्ला वन कार्यालयलाई बिहान ७ बजे जानकारी भए पछि तत्काल हात्तीको मृत शरिर ब्यवस्थापनका र मृत्युको कारणबारे प्रारभ्भिक अनुसन्धान गर्न टोली खटिएको सहायक वन अधिकृत यादबले बताउनु भयो ।
जिल्ला वन कार्यालयको तथ्याङ्ग अनुसार झापामा अहिलेसम्म १० वटा हात्ती मरिसकेका छन भने हात्तीको आक्रमणबाट ३५ जना मानिसको ज्यान गईसकेको छ ।
दुई महिना अघि मात्र बुद्धशान्ति गाउँपालिका–५ स्थीत पाँचपोखरी सामुदायिक वन क्षेत्र भित्र एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको थियो ।