सुसन राई, इलाम, १८ मंसीर ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इलामको माङसेबुङ क्षेत्रलाई नेपालको एक धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाँका गुरु योजनाहरुलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन् । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ लिङदेनको ६५ औं जन्मोत्सवलाई उद्घाटन गर्दै मुख्यमन्त्री राईले पृथक विशेषताको माङसेबुङलाई नेपालकै धार्मिक पर्यटकीय स्थल बनाउन संघीय र प्रदेश सरकार लागिपरेको बताए ।

धार्मिक पर्यटकीय क्षेत्र बनाउँन सबै क्षेत्रको विकास आवश्यक रहेको बताउँदै मुख्यमन्त्री राईले गुरुयोजना निर्माण गरी योजनाको माग आए कार्यान्वयनका लागि सरकार तयार रहेको प्रतिवद्धता जनाए । ‘यस क्षेत्रको मुख्य समस्या दमक रवि सडक हो । त्यसका लागि आगामी ३ वर्षभित्र कालोपत्रे गरिसक्ने गरी संघीय सरकारबाट २ अर्ब ३० करोड रकमको व्यवस्था भईसकेको छ’ मुख्यमन्त्री राईले भने, ‘किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङलाई समृद्ध बनाउन बजेट व्यवस्थापनका लागि प्रदेश सरकार तयार रहेको बताएका छन् ।’
सम्बोधनका क्रममा मुख्यमन्त्री राईले राष्टिय विभूति महागुर फाल्गुनन्द लिङदेन र वर्तमान धर्मगुरु आत्मानन्द लिङदेनले समाज सुधारका लागि गरेको कार्यको प्रसशां समेत गरे । ‘किरातीहरुको सुधारका लागि महागुरु र वर्तमान गुरुहरुको योगदान अतुलनीय छ’ मुख्य मन्त्री राईले भने, ‘उहाँहरुले देखाउनुभएको विश्व शान्ति र मानव एकताको बाटोलाई सबैले अबलम्बन गर्दै आत्मासाथ गर्न सकै नेपालमा स्थायी शान्ति कायम रहनेछ ।’

मुख्यमन्त्री राईले सबै भाषा, सबै धर्म र सबै सम्प्रदायको उचित सम्मान र संरक्षण गर्न सकेमात्र समृद्ध नेपाल निर्माण हुने बताउँदै सरकारको तर्फबाट धार्मिक आधारमा कसैलाई विभेद नगरिने स्पष्ट पारेका थिए । कार्यक्रमलाई प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो (मौसम¬), नेपाली कांग्रेसका मुख्य सचेतक कोदार कार्की, संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादव लगायतले सम्बोधन गर्दै समृद्ध राष्ट निर्माणका लागि सबै धर्मावलम्बीहरु एक भएर अगाडि बढ्न सुझाव दिका थिए ।
किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद धिरेन्द्र शर्मा (रमण), रामबहादुर मगर, नेपाली कांग्रेस जिल्ला सचिव खगेन्द्र देवान, नेकपा इलाम जिल्ला इञ्चार्ज हर्क लावती कान्छा, सहित विभिन्न राजनैतिक दलका नेताहरु, स्थानीय तहका प्रमुखहरु, धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, साधुसन्त लगायत किरात धर्मावलम्बीहरुको सहभागिता थियो । कार्यक्रममा सहभागी जनाउन नेपालसहित विभिन्न आधा दर्जन देशहरुबाट समेत किरात धर्मावलम्बीहरुको उपस्थिती रहेको आयोजक समितिले जानकारी दिए ।
कार्यक्रममा जन्मोत्सवको अवसरमा संचालित खेलकुद प्रतियोगिताका विजयी खेलाडीलाई मुख्यमन्त्री राईको बाहुलीबाट पुरस्कार वितरणसँगै विभिन्न साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।
जन्मोत्सवको अवसरमा १९ गते आत्मानन्द लिङदेन ‘सेइङ’ बाट आर्शीवचन, सहित्यिक तथा साँस्कृतिक कार्यक्रम, मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण र संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक/पुस्तिका विमोचन कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । यसैगरी मंसीर २० गते माङगेन्ना चामल वितरणसँगै कार्यक्रम समापन हुनेछ ।
माङसेबुङ गाउँपालिका–२ (साबिक इभाङ–५) चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते जन्मिएका आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन ।
फोटो फिचर








