
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री बद्रीप्रसाद न्यौपानेसहित ९ जनाविरुद्ध जनही ३१ करोड ५२ लाख बिगो दावीसहित भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
काठमाण्डौको केन्द्रमा रहेको भृकुटीमण्डपस्थित फन पार्कको जग्गा न्यौपाने मन्त्री हुँदा वदनियतपूर्ण तरिकाले ठेकेदारलाई भाडामा लगाएको भन्दै अख्तियारले सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
न्यौपाने महिला बालबालिका तथा समाजकल्याण मन्त्री हुँदा २०६९ साल भदौ २० गते फनपार्क क्षेत्रको ६० रोपनी जग्गा प्रतिरोपनी प्रतिमहिना ९ हजार २ सय ५० रुपैयाँमा ठेकेदारलाई भाडामा दिने निर्णय भएको थियो ।
फनपार्कसँगै जाेडिएकाे इच्छुमति तरकारी बजारका लागि परिषद्ले प्रतिरोपनी ७८ हजार ५ सय ७१ रुपैयाँ ४२ पैसामा भाडामा लगाएकाे भए पनि फनपार्ककाे जग्गा न्यून मुल्यमा भाडामा लगाउनुले बदनियत देखिएकाे अख्तियारले जनाएकाे छ ।
प्रचलित मापदण्ड र प्रकृया विपरित बदनियतपूर्ण तरिकाले ठेकेदारलाई जग्गा भाडामा दिँदा अहिलेसम्म ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा नोक्सान भएको देखिएकाले त्यति नै बिगो माग दावीसहित मुद्धा दायर गरिएको अख्तियारका सह-प्रवक्ता रामेश्वर दंगालले बताउनुभयो ।
अख्तियारले परिषदका तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज विहारीप्रसाद चौधरी, सदस्य सचिव इन्जिनियर रविन्द्रकुमार यादव भन्ने रविन्द्र यादव, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण विरुद्ध जनही ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा बिगो दावी सहित मुद्धा दायर गरेको हो ।
यस्तै फनपार्कका प्रमुख सञ्चालक रविन्द्र गुरुङ र मेला सञ्चालक टेकबहादुर गुरुङविरुद्ध पनि जनही ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा बिगो दावीसहित मुद्धा दायर गरेको सह-प्रवक्ता दंगालले बताउनुभयो ।
बिगो मागदावी गरिएकाहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ बमोजिमको कसुरमा जरिवाना र कैद सजाय दुवै हुने गरी मुद्धा दायर गरेको उहाँले बताउनुभयो ।
यस्तै परिषदका तत्कालीन कोषाध्यक्ष रत्न गाहा मगर, निर्देशक मदनप्रसाद रिमाल, उपनिर्देशक बलबहादुर स्वार, कानुनी सल्लाहकारद्वय प्रेमसिंह धामी र जगदेव चौधरीविरुद्ध पनि भ्रष्टाचार मुद्धा दायर गरिएको छ ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा (२) बमोजिम सजाय हुने गरी मुद्दा दायर गरीएकाे उहाँले बताउनुभयो ।


