
बुटवल ।। कान्ति बाल अस्पतालमा बाल रोग विशेषज्ञ (एमडी) अध्ययनरत डा श्रीधर खनालले आफ्नो बिहे खर्च क्यान्सर पीडित बालबालिकाको उपचारार्थ अस्तित्व फाउण्डेशनलाई हस्तान्तरण गरेका छन् ।
नेपाली संस्कृति र परम्परा खर्चिलो र भड्किलो हुँदै गएको सन्दर्भमा पाल्पास्थित कुसुमखोला निवासी डा. खनालले आफ्नो विवाहमा लाग्ने अनुमानित खर्च ४ लाखफाउन्डेशनलाई हस्तान्तरण गरेका हुन्। बुटवलमा भएको उक्त विवाह समारोहमा कुनै तामझाम थिएन।दुलाहा डाक्टरले भने-”स्वयम्बर गर्दा दुलहीलाई कुशको औंठी लगाइदिएँ।”
बुटवलकीदुलही कमला ज्ञवाली ब्याचलर इन पब्लिक हेल्थ अध्ययनरत छिन्। ‘दुलही पक्षबाट जन्तीलाई सादा टीका मात्र लगाइदिए, ढोगभेटमा कुनै सामान आदानप्रदान गरिएन,- डाक्टर खनालले भने । यस किसिमको विवाहमा घर र माइती दुवै पक्ष खुसी भएको उनले बताए । फाउण्डेशनमा आवद्ध अन्य सदस्यहरूले पनि बिहे, ब्रतबन्ध, चाडपर्व र वार्षिकोत्सवमा हुने खर्चलाई कटौती गरी फाउण्डेशनलाई सहयोग गर्दै आएका छन्।

