
झापा ।। झापा, मोरङ र सुनसरी जिल्लामा वसोवास गर्ने आदिवासीहरुले मनाउने सिरुवा पर्वको रौनक यतिवेला जताततै देख्न सकिन्छ ।
यो पर्व आदिवासी समुदायका राजवंशी, ताजपुरिया, गनगाई लगायतका जातीहरुले विशेष उल्लासका साथ नजिकैको ग्रामथानमा गएर पुजाआजा गरी मनाउने गर्दछन् । सोहि पर्वको अवसर पारेर आज कमल गाउँपालिका–६ स्थित सिरुवा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

ग्रामथान संरक्षण समिति कमल गाउँपालिका–६ मैनाखोतामा आयोजना गरिएको सो सांस्कृतिक कार्यक्रममा राजवंशी, ताजपुरिया, गनगाई लगायतका जातीहरुको भेषभुषाका साथमा सांस्कृतिक झलकहरु प्रस्तुत गरिएको थियो । कमल गाउँपालिकाका उपाध्यक्ष बेणु शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष शिवाकोटी, अतिथि वडाध्यक्ष नरेन्द्र भट्टराईले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि लोक गायक सिताराम ताजपुरियाले राजवंशी, ताजपुरिया र नेपाली भाषामा गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा राम राजवंशी, हनि राजवंशी लगायतका कलाकारहरुले विभिन्न प्रस्तुति दिएका थिए भने, राजवंशी संस्कृति झल्किने नृत्य पनि प्रस्तुत गरिएको थियो ।




