
भारतको विभिन्न राज्यमा मङ्गलबार राति बेमौसमको वर्षापछि आएको घूलो सहितको आँधीमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार राजस्थान राज्यमा परेको चट्याङका कारण चार बालबालिका सहित ११ जनाको मृत्यु भएको छ ।
त्यसगरी पश्चिम राज्य गुजरातको कैयौं जिल्लामा आएको धूलो सहितको आँधीमा परी कम्तीका नौ जनाको मृत्यु भएको छ । भारतको गुजरात र अहमदाबाद राजकोट, पटना लगायत अन्य कैयौं जिल्लाहरु यस आँधीका कारण प्रभावित भएका छन् । अरेबियन सागर र बे-अफ बंगालबाट आएको मौसमी प्रणाली र पश्चिमी वायुको प्रणाली मिसिँदा उक्त हावाहुरी सहित वर्षा भएको भारतको मौसम विभागले जनाएको छ ।
उक्त मौसम प्रणालीको प्रभाव भारतसंगै नेपालमा पर्न सक्ने भारतीय मौसम विभागले जनाएको छ । विमागले उक्त मौसमको प्रभाव नेपालमा पनि पर्न सक्ने चेतावनी दिँदै सर्तक रहन आग्रह गरेको छ । यता नेपालकै मौसम विभागले समेत नेपालमा अझै केही दिन चट्याङ, हावाहुरी सहित बर्षाको सम्भावना रहेको बताएको छ ।
पछिल्लो मौसम प्रणालीमा भएको उताडचढावको कारण तराईमा हावाहुरीको सम्भावना अझै नटरेको बताएको छ । विभागले बिहीबार र शुक्रबार पनि मौसममा बदली हुने र केही स्थानमा असिना सहित पानी पर्ने र उच्च पहाडी तथा हिमाली भू भागहरूमा हिमपातको समेत सम्भावना रहेको जनाएको छ । कालिका न्युजबाट

