दमक, १७ असाेज ।
झापाको दमकमा विहिबार सम्पन्न दोस्रो मिडियाकप फुटसल प्रतियोगिताको उपाधी हरप्रहर मिडियाले हात पारेकाे छ भने दमकबाट सञ्चालित पाथीभरा एफएम उपविजेतामा चित्त बुझाएकाे छ।
पाथीभरा एफएमलाई ६–१को गोल अन्तरले हराउँदै हरप्रहर मिडिया प्रा.लि.ले उपाधि जितेको हो । उपाधिसंगै विजेताले नगद रु १५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता वनेको पाथीभरा एफएमले नगद रु १० हजार,ट्रफी र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

प्रतियोगितामा कोचिला न्यूज अनलाइनका विशाल थापा ९ गोल गरी हाइस्कोरर उपाधिबाट पुरस्कृत भए भने यस्तै सप्तरङ्गी एफएमका डिकेश लामा उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । कार्यक्रममा सांसद महेन्द्र कुमारी लिम्बुले बिजेता टिम तथा खेलाडीलाई पुरस्कार वितरण गरिन् ।

दाेस्राे मिडिया फुटसल प्रतियाेगिताकाे उद्घाटन कार्यक्रममा सांसद लिम्बु, दमक जेसीजका अध्यक्षसमेत रहेका दमक ८ का वडा सदस्य भिमराज चौलागाईं, रोटरी क्लब अफ दमकका अध्यक्ष सन्दिप चापागाईं, प्रेस संगठनका टिकाराम उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए । उद्घाटनमा कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायत विभिन्न सञ्चार गृहका सञ्चालक,पत्रकारहरुको उपस्थिति रहेको थियो ।
नेपाल प्रेस यूनियन माईपश्चिम क्षेत्रीय समितिले विजयदशमी, शुभदिपालवली तथा छठ पर्वकाे अवसर पारेर गत वर्ष देखी फुटसल मिडिया कप अायाेजना गर्दै अाएकाे छ । यस वर्ष माइ पश्चिमका ८ वटा सञ्चारगृहरूले सहभागीता जनाएकाे थियाे ।

