adv

झापा ११ लाई हराउदै नेपाल पुलिस क्लब क्वाटरफाइनलमा

भूमिका सुब्बा,  बिर्तामोड, १७ कार्तिक।

झापाकाे डाेमालाल रंगशालामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको क्वाटरफाइनलमा नेपाल पुलिस क्लब प्रवेश गरेकाे छ । आइतबार भएकाे खेलमा घरेलु दर्शकको समर्थन पाएको झापा ११ एफसीमाथि शानदार जीत दर्ता गर्दै नेपाल पुलिस क्लबले क्वाटरफाइनल खेल खेल्ने पक्का गरेकाे हाे ।

नेपाल पुलिस क्लबले झापा ११ लाई २-१ गोल अन्तरकाे नतिजा निकाल्दै अाफ्नाे क्वाटरफाइनल खेल यात्रा सुरक्षित गरेकाे छ । खेलकाे १३औँ  मिनेटमा पाएको फ्रिकिक अवसरलाई नेपाल पुलिस क्लबका समन लामाले सदुपयाेग  गर्दै टिमलाई अग्रता दिलाएकाे थियाे ।

झापा ११ का खेलाडीले डिबक्स नजिक गरेको फाउलमा सुमन लामाको फ्रिकिक प्रहारबाट पुलिसले अग्रता लिएको हो । पुलिससँग बराबरी गर्ने अवसर झापा ११ का कप्तान योगेश गुरुङले खेर फाले । मिलन राईमाथि पुलिसका खेलाडीले फाउल गर्दा पहिलो हाफको ३०औँ मिनेटमा झापा ११ ले फ्रिकिकको अवसर पाएको थियो । तर, कप्तान योगेशको प्रहार सिधै बाहिरिएपछि झापा ११ अनलक्की सावित भयो ।

आक्रामक बनेको झापा ११ का सुशिल राईको क्रसमा मिलन राईको हेडर पोलबाट थोरै बाहिरिएको थियो । ३१औँ मिनेटमा पाएको अवसर पनि गुमाउँदा झापाली दर्शक निरश बनेका थिए ।

एक गोलको अग्रताले मनोवल उच्च बनाएको पुलिसका खेलाडीेले झापाली रक्षकको बिग्रेको तालमेलको फाइदा उठाउँदै काउन्टर अट्याकलाई रणनीति बनाएको थियो । खेलको ३८औँ मिनेटमा पुलिसका सौजन याख्खाले खाली रित्तो गोलपोस्टमा गोल गर्न नसक्दा अग्रता दोब्बर बनाउन चुकेको थियो । झापाली गोलरक्षक किशोर गिरी बिट भएको अवस्थामा सौजनको प्रहार बाहिरिएको थियो ।

झापा ११ ले खेलको दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरे पनि अग्रता भने पुलिसले लियो । दोस्रो हापको १४औँ मिनेटमा पुलिसका सौजन याख्खाले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । फेरि झापाली गोलरक्षक किशोर गिरी बिट भएको अवस्थामा सौजनले गोल गरेका हुन् । झापाली रक्षक निरज बस्नेतले रोक्ने प्रयास गरे पनि बलले जाली चुमिसकेको थियो ।

२-० गोलको नतिजामा झापा ११ ले दोस्रो हाफको २९औँ मिनेटमा झापा ११ ले एक गोल फर्कायो । पुलिसका गोलरक्षक शत्रुधन चौधरीसँग वान भर्सेज वानमा झापाली कप्तान योगेश गुरुङले गोल गरेर खेलमा फर्किने प्रयास गरे तर खेललाई बराबरी गर्न भने सकेनन् । खेलको उत्तराद्र्धतिर झापा ११ ले पुलिसमाथि दबाब सिर्जना गरेका थिए ।

झापा ११ को टिममा नियमित खेलाडी योगेशसँगै किशार र पुजन उपरकोटी थिए । कर्ण लिम्बू बेञ्चमा थिए । कडा प्रतिस्पर्धा भएको खेलमा ७ वटा पहेँलो कार्ड देखाइएको थियो । ७ मध्ये पुलिसको भागमा ५ वटा कार्ड बुक भएको छ । खेलको म्यान अफ दी म्याच पुलिसका सौजन याख्खा घोषित भए । उनले नगद १० हजार पाए ।

जायोन स्पोर्टस् क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन् । सोमबार सिक्किमको आक्रमण एफसीले बेलबारी एफसी मोरङसँग भिड्नेछ । बेलबारी प्रदेश लिगको रनरअप टिम हो ।

गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी पाउनेछ । विधागत पुरस्कार विजेता खेलाडीले जनही १५ हजार पाउँदा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु