काठमाण्डाै, २२ कार्तिक ।
भारतले हालै जारी गरेकाे नयाँ नक्सामा नेपाली भूभाग मिचेकाे विराेधमा विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दुतावास घेराउ गरी विरोध प्रदर्शन गरेका छन् । सार्वजनिक गरिएकाे नक्सा तुरून्त खारेजीकाे माग राख्दै सत्तारूढ दल नेकपाका निकट विद्यार्थी संगठन अनेरास्ववियुकाे नेतृत्वमा शुक्रबार बिहान विरोध प्रदर्शन गरेको हो । विरोधका क्रममा विद्यार्थीले भारतको नक्सा जलाएका थिए भने लिपुलेक हाम्रो हो भन्दै नारा लगाएका थिए ।

भारतले हालै जारी गरेको नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नै भूमिमा रहेको जनाएको थियो। उक्त नक्सा सार्वजनिक भएपछि विद्यार्थीहरुले उक्त नक्सा सच्याउन माग गर्दै आन्दोलनमा उत्रेका हुन् । धर्नापछि आयोजित कोण सभालाइ सम्बोधन गर्दै अनेरास्ववियूका संयोजक ऐन महरले नेपाली भूमिलाई समेटेर भारतले बनाएको नक्सा तत्काल खारेज गर्नुपर्ने बताए।

