भूमिका सुब्बा, विर्तामाेड, २३ कार्तिक ।
झापाको बिर्तामोडमा जारी हाम्रो पुर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकपको शनिबार भएको अन्तिम सेमिफाइनलबाट चर्च ब्वाइज युनाइटेड फाइनलमा पुगेको छ । चर्च ब्वाइजले उपाधिका लागि त्रिभुवन आर्मी कलबसँग प्रतिष्पर्धा गर्ने छ ।

चर्च ब्वाइजको जितका लागि खेलको २६ औं मिनेटमा सुनिल खड्काले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उमेश राईको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले पञ्च गरेर फर्काएका थिए । सो बललाई नियन्त्रणमा लिंदै खड्काले गोल गरेका थिए । खेलमा खड्काले गरेको गोल नै निर्णायक बनेको थियो ।
खेलको ५५ औं मिनेटमा पुलिसका अञ्जन राई रातो कार्ड खाँदै बाहिरिएपछि पुलिस १० खेलाडीमा सिमित भएको थियो । राईले चर्च ब्वाइजका भुवन बस्नेतलाई डि एरिया नजिकै ब्याक ट्याकल गरेर लडाएपछि रातो कार्ड खाँदै मैदान छोडेका थिए । १० खेलाडीमा सिमित भएको पुलिसले त्यसपछि स्कोर गर्ने थुप्रै अवसर बनाएको भएपनि तयो सदुपयोग गर्न सकेन ।

खेलको २३ औ मिनेटमा चर्च ब्वाइजका बिष्णु सुनुवारले पुलिसका सुमन लामालाई डि एरियामा फल गरेछि पाएका पेनाल्टी पाएको थियो । पुलिसका लामाले प्रहार गरेको पेनाल्टीलाई चर्च ब्वाइजका गोलरक्षक बिनय श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए । पेनाल्टी बिफल हुने बित्तिकै पुलिसले अग्रता लिने अवस्था कमजोर बनेको गियो ।

खेलको १२ औ मिनेटमा पुलिसका भरत शाहको प्रहार चर्च ब्वाइजका गोलरक्षक बिनय श्रेष्ठले पञ्च गरेर बचाए । ६२ औ मिनेटमा पुलिसका खेलाडी भोला सिलवालको डि एरियामा गरेको हेडर फितलो भयो । नियमित सेटका अजित भण्डारी, अभिषेक रिजाल, रवि पासवान र रुपबहादुर लामाको अभाव मैदानमा देखिएको थियो । पुलिसका स्कोररलाई चर्च ब्वाइजका डिफेण्डरले खुलेर खेल्न दिएका थिएनन् ।

स्कोर गर्ने अवसर खासै नबनाएको चर्च ब्वाइजले उपाधिको दावेदार मानिएको पुलिसलाई दवावमा राखेको थियो । ७० औं मिनेटमा चर्च ब्वाइजका उमेश कार्कीले डि एरियामा पाएको बललाई फितलो प्रहार गर्दा पुलिसका गोलरक्षक चौधरीले सहजै बचाउ गरेका थिए । बिपक्षी पोष्टमा खरापुर्ण आक्रमण नबुनेको चर्च ब्वाइजले मैदानमा बल नियन्त्रण भने राखेको थियो ।

सेमिफाइनलमा भएको जितसँगै चर्च ब्वाइजले कम्तिमा ६ लाख २५ हजार रुपैंयाँ सुरक्षित गरेको छ । उपाधिका लागि सोमबार हुने फाइनल खेलमा चर्च ब्वाइजले त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्ने छ । खेलको म्यान अफ द म्याच एकमात्र निर्णायक गोलकर्ता सुनिल खड्का घोषित भए । उनले नगद १० हजार रुपैंयाँ पुरस्कार पाए । प्रतियोगितामा दुइ भारतीय, नेपालका बिभागीय तीन सहित १० टिमको सहभागिता रहेको थियो ।

