माङसेबुङ, १८ मंसिर ।
उप्रप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले जनताले विकासका लागि केन्द्रीय सरकारको मुख ताक्ने दिनको अन्त्य भएको बताएका छन् । जिल्लाको माङसेबुङ ५ स्थित किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औँ जन्मात्सव कार्यक्रमलाई सम्बोधन उपप्रधानमन्त्री पोख्रेलले विगतमा जस्तो केन्द्र धाउने दिन गएको बताएका हुन् ।

मुलुक अहिले संघीयता कार्यान्वयनको अवस्थामा रहेको उल्लैख गर्दै उपप्रधानमन्त्री पोख्रेलले पूर्ण रुपमा संघीयता कार्यान्वयन भईसकेपछि केन्द्र धाउने दिन सधैंको लागि अन्त्य हुने दावी गरे । उपप्रधानमन्त्री पोख्रेलले विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले स्थानीय सरकारले नसके प्रदेश सरकारसमक्ष र प्रदेश सरकारले पनि नसके मात्र संघीय सरकारसमक्ष माग गर्नुपर्ने पद्धतीको विकास गर्नुपर्ने बताए ।
संविधानले दिएको अधिकारको उपयोग गर्दै सबै सरकार उत्तिकै मजबुत रहेको बताउँदै संघीय सरकारले मात्र विकास गर्छ भन्ने कुराको अन्त्य हुन जरुरी रहेको उल्लेख गरे । त्यसका लागि तीनै तहका सरकारबीच तालमेल हुन अत्यावश्यक रहेको उल्लेख गरे ।
देशमा समृद्ध नेपाल र सुखी नेपालीको नारा वर्तमान सरकारले नै पूरा गर्ने प्रतिवद्धता जनाउँदै साथ दिन सम्र्पण इलामेली जनतासमक्षा आह्वान समेत गरे । प्रधानमन्त्री आधुनिकिकरण परियोजना, कृषिमा आधुनिकीकरण र व्यवसायिकरणमा समेत सबै सरकारले पहल गर्नुपर्ने उनको धारणा थियो ।

किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभाका अध्यक्ष तथा तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, संविधान सभा सदस्य नगेन्द्र कुमाल, माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गाे, उपाध्यक्ष सुनिता सुब्बा लगायत विभिन्न राजनैतिक दलका नेताहरु, स्थानीय तहका प्रमुखहरु, धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, साधुसन्त लगायत किरात धर्मावलम्बीहरुको सहभागिता थियो । कार्यक्रममा सहभागी जनाउन नेपालसहित विभिन्न आधा दर्जन देशहरुबाट समेत किरात धर्मावलम्बीहरुको उपस्थिती रहेको आयोजक समितिले जानकारी दिए ।

कार्यक्रममा जन्मोत्सवको अवसरमा संचालित खेलकुद प्रतियोगिताका विजयी खेलाडीलाई प्रमखु उप्रप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलकाे बाहुलीबाट पुरस्कार वितरणसँगै विभिन्न साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।
जन्मोत्सवको अवसरमा १९ गते आत्मानन्द लिङदेन ‘सेइङ’ बाट आर्शीवचन, सहित्यिक तथा साँस्कृतिक कार्यक्रम, मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण र संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक/पुस्तिका विमोचन कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । यसैगरी मंसीर २० गते माङगेन्ना चामल वितरणसँगै कार्यक्रम समापन हुनेछ ।

माङसेबुङ गाउँपालिका–२ (साबिक इभाङ–५) चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते जन्मिएका आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन ।






