काठमाडौं ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले किरात राई यायोक्खा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ग्राण्ड डिजाइन’मा परिचालित भएको आरोप लगाएका छन् ।
यायोक्खाले इतिहास, भुगोल र सभ्यताको आधारमा प्रदेश नं १ को नाम किरात प्रदेश राख्ने अभियान चलाएपछि लिङदेनले यायोक्खामाथि यस्तो आरोप लगाएका हुन् ।

‘साथीहरु रिसाए पनि तितो सत्य बोल्नैपर्ने’ भन्दै लिङदेनले फेसबुकमा यायोक्खाको अभियान, प्रदेश नामाकरणबारे लेखेका छन् ।
‘यायोक्खाको नेतृत्व साथीहरु माइतीघर मण्डलामा नेवा–ताम्सालिङ जिन्दावाद भन्नुहुन्छ, तमुवान–मगरात जिन्दावाद भन्नुुहुन्छ । तर लिम्बुवान किरात जिन्दावाद भनेर कहिल्यै भन्नुहुन्न,’ लिङदेनले लेखेका छन्, ‘यो सब ओलीको ग्राण्ड डिजाइन हो । लिम्बुवानको ल पनि उच्चाचरण गरेनौ केवल किरात मात्र भन्यौ भने किरात सोलिट हुन्छ भनेर यायोक्खाका केही साथीहरुलाई ओलीले उचाल्यो ।’
उनले पूर्वमा राई र लिम्बूबीच स्थायी फाटो ल्याएर सधैं राज गर्ने ‘ओली एण्ड कम्पनीको डिजाइन’ भएको जिकिर गरेका छन् ।
किरात नभए के गर्ने ?
लिङदन किरात प्रदेशको पक्षमा वकालत गर्दै आएका नेकपाका नेता तथा प्रदेश नं १ का अर्थमन्त्री इन्द्र आङबोप्रति पनि आक्रोशित भएका छन् ।
‘प्रदेश नं १ का एकजना मन्त्री साथी हुनुहुन्छ । उहाँले हरेक कार्यक्रममा लिम्बुवान चाहिँ हुँदैन किरात चाहिँ हुन्छ भनेर ठोकुवा गर्नुहुन्छ,’ लिङदेनले लेखेका छन्, ‘लिम्बुवान हुँदैन भनेर उहाँले ठेक्का लिनुभएको छ ? अनि किरात भएन भने के गर्नुहुन्छ ?
मन्त्री आङबोले लिम्बूहरु पनि किरात नै भएको प्रष्ट पार्दै हाललाई किरात प्रदेश नाम राख्ने र भविश्यमा १० प्लस एक प्रदेशमा संघर्ष गर्दै लिम्बुवान र किरात अलग अलग प्रदेश बनाउन सकिने बताउँदै आएका छन् ।
लिङदेनले प्रदेशको नाम लिम्बुवान पनि नहुने किरात पनि नहुने उल्लेख गरेका छन् । उनले आफूहरुले राई र लिम्बूबीच सहकार्य गर्नुपर्नेमा लामो समयदेखि आग्रह गर्दै आएको बताएका छन् ।
‘ढिलो भएको छैन । राई र लिम्बूले समयमा नै कुरा बुझौ । सहअस्तित्वसहितको सहकार्य सुरु गरौ,’ लिङदेनको आग्रह छ, ‘हामी मुक्त होऔ र औपनिवेशिक शोषकहरुलाई बेलायतको संसदमा टाउकोलाई फुटबल खेलेजस्तै केही ने केही ऐतिहासिक कार्य गरौ ।’
साभार –सार्वजनिक डट कम



