adv

प्रदेशस्तरीय महिला फुटबलको उपाधि कन्काईलाई

भूमिका सुब्बा, बिर्तामोड, पुस १५ ।

प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि कनकाई महिला फुटबल टिमले जितेको छ । मंगलबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा सुनसरीको धरान महिला फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै कनकाईले उपाधि चुमेको हो ।

प्रतिश्पर्धात्मक खेलमा पहिलो हाफसम्म गोल रहित बराबरी रहेको थियो । दोस्रो हाफको अन्तिम मिनेटमा कनकाईकी कप्तान लक्ष्मी श्रेष्ठले हेडरमार्फत गरेको गोल नै निर्णायक गोल बनेको थियो ।

सरिता शर्पाले मिलाइदिएको क्रस पासलाई कनकाईकी कुसुम खतिवडाले ‘मिस’ गर्दा श्रेष्ठले गोललाई जाली चुमाएकी थिइन् । फाइनल खेलको वुमन्स अफ दि म्याच एक गोल गर्ने कनकाईकी श्रेष्ठ घोषित भइन् । उनले नगद एक हजार पाइन् । प्रतियोगिताको उत्कृष्ट गोल किप्पर विजेता टिमकी छत्रिका चौधरी, बेस्ट डिफेन्स कनकाईकी खुस्मा राई, बेस्ट मिडफिल्ड उपविजेता धरानकी समीक्षा राई, बेस्ट फरवाड कनकाईकी सरिता शेर्पा र बेस्ट कोच कनकाईका सन्त रायामाझी घोषित भए । उनीहरुले जनही एक हजार पाए ।

बिर्तामोड फुटबल क्लबको आयोजनामा सम्पन्न ‘तमू ल्होसार गोल्डकप–२०७६’ प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार १११ रुपैयाँ, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्यो । उपविजेता बनेको धरानले ५१ हजार १११ रुपैयाँमा चित्त बुझायो ।

कार्यक्रममा विजेता र उपविजेतालाई आयोजक अध्यक्ष डिके गुरुङ, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेल, झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइराला, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनाली, कांग्रेस नेता देउमान थेबेलगायतले पुरस्कार वितरण गरेका थिए ।

फाइनल प्रतिस्पर्धाअगाडि तमु समुदायको विशेष सांस्कृतिक प्रस्तुति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु