चुलाचुली, ११ माघ ।
इलाम जिल्लाको चुलाचुली गाउँपालिका वडा नं. ५ स्थित अन्धाराजारानी दरबार क्षेत्रमा एकदिने पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । आज शनिबार अनेरास्ववियु चुलाचुली गाउँ कमिटिको आयोजनामा पदयात्रा कार्यक्रम सम्पन्न भएको हो ।

धार्मिक तथा पर्यटकिय क्षेत्र अन्धाराजारानी दरबारलाई प्रचारप्रसार गरि आन्तरिक तथा वाह्य पर्यटकहरु भित्रियाउने लक्ष्यसहित आयोजना गरिएको पदयात्रामा करिब १ सय जना पदयात्रीहरुको सहभागिता रहेको थियो । भ्रमण वर्ष २०२०लाई सफल बनाउन तथा स्थानीय स्तरका पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसारमा टेवा पु¥याउने उदेश्यले पदयात्राको आयोजना गरिएको अनेरास्ववियु चुलाचुली गाउँ कमिटिका अध्यक्ष निशेष राईले बताए ।

उत्तम चोक देखी सुरु भएको पदयात्रा अन्धाराजारानी प्रवेशद्वारमा औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका प्रदेश सांसद माननिय धिरेन्द्र शर्मा (रमण)ले अन्धाराजारानी दरबार प्रवेशद्वारमा रिवन काटेर पदयात्राको औपचारिक उद्घाटन गर्नुभएको थियो । औपचारिक उद्घाटनसँगै किरात राई यायोक्खा चुलाचुली ५ नम्बर वडा समितिको साकेला नृत्य टोलीले साकेला शिली प्रदर्शन गरी स्वागत गरेका थिए । जहाँ खाजाका लागि फलफुलको समेत व्यवस्था गरिएको थियो ।

करिब २ घण्टाको उकालो बाटो हिडेपछि गन्तव्य स्थान अन्धाराजारानी दरबार क्षेत्रमा टोलि पुगेको थियो । उक्त दरबार क्षेत्रमा अनेरास्ववियू चुलाचुली गाउँ कमिटिले औपचारिक कार्यक्रम गरि पदयात्राको बारेमा थप प्रकाश पारेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका प्रदेश सांसद माननिय धिरेन्द्र शर्मा (रमण)ले यस धार्मिक तथा पर्यटकिय क्षेत्रको विशेषताका बारेमा बताउने व्यक्ति सधैभरी बसिरहन सहज नहुने बताउदै यहाँका बिशेषताहरुलाई डिजिटलाइज गर्नुपर्नेमा जोड दिनुभयो । यस धार्मिक तथा पर्यटकीय क्षेत्र अन्धाराजारानीका लागि विकास र प्रवद्र्धनका लागि सहयोग गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो ।

उहाले भन्नुभयो– गत वर्ष पनि यस क्षेत्रका लागि केहि रकम विनियोजन गराएका थियौ र यस पटक पनि ६० लाख रुपैयाँ प्रदेश सरकाले छुट्याइएको छ ।त्यस्तै कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले धार्मिक तथा पर्यटकीय क्षेत्र अन्धाराजारानीको डिपिआर गाउँपालिकाले सम्पन्न गरिसकेको बताउनुभयो । प्रचारसँगै संरक्षणका लागि सबै जागरुक्ताका साथ लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय निर्वाचन आयोग प्रमुख भाष्कर खनाल, केन्द्रीय सदस्य रविन्द्र सुवेदी, नेकपा माङसेबुङ अध्यक्ष हेमन्त राई, समाजसेवी संजय राई लगायतको उपस्थिति रहेको थियौ ।

