झापा । टाइब्रेकरमा पारिजात महिला फुटबल क्लब झापालाई पाखा लगाउँदै धनकुटा जिल्ला फुटबल संघ यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली धनकुटाले ४–३ गोलअन्तरमा पराजित गर्दै दनकुटाले उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो ।

निर्धारित ७० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । जसमा धनकुटाकी असारा दाहाल, अन्जना थुलुङ, सुसिला चौधरी र सुस्मिता राई गोल गर्न सफल भइन् । पारिजातकी सुस्मिता लेप्चा, निलु तिर्की र रिमा तामाङले मात्र गोल गरिन् । बद्लिँदो मौसमका कारण झरीमाझ खेलाडीले प्रतिस्पर्धा गर्न बाध्य थिए ।

खेलको वुमन अफ दी म्याच पारिजातकी रिमा तामाङ घोषित भइन् । उनलाई १ नम्बर प्रदेश सांसद अर्जुन राईले नगद ३ हजार पुरस्कार प्रदान गरे । आइतबार लेटाङ फुटबल क्लब मोरङले म्याङलुङ नगर खेलकुद विकास समिति तेह्रथुमसँग तेस्रो क्वाटरफाइनल खेल खेल्नेछ ।महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा–९ झापाको आयोजनामा गरिएको यस प्रतियोगिता १ नम्बर प्रदेशमै सर्वाधिक राशिको हो ।

गोल्डकपमा ९ जिल्लाका १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजार पाउनेछ । अन्य विधागत पुरस्कारतर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्डले जनही ७ हजार पाउँदा फाइनल खेलको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिनेछ । त्यस्तै, फेयर प्ले टिमलाई आयोजकले नगद १० हजार प्रदान गर्नेछ भने वुमन अफ दी टुर्नामेन्ट बन्ने खेलाडीलाई नगद १२ हजार पुरस्कार प्रदान गरिनेछ ।

