माङसेबुङ : यतिबेला महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विश्व प्रभावित बनेको छ । शहरदेखि गाउँसम्मका मानिसहरु कोरोनाबाट आतंकित बनेका छन् । पछिल्लो तथ्याङकअनुसार विश्वमा ६ लाख २२ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् भने २८ हजार ८ सय बढीले ज्यान गुमाइसकेका छन् ।
यस्तो अवस्थामा विश्वका स्वास्थ्यकर्मीहरु आफ्नो ज्यानको बाजी राखेर विरामीको उपचारमा तल्लीन छन् । विरामीको विवरण समेत गोप्य राखेर दिनरात आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् ।
तर इलामको माङसेबुङ गाउँपालिकाका २ जना स्वास्थ्यकर्मी भने आफ्नो कर्तव्य पूरा गर्न त कहाँ हो कहाँ, उल्टै फलानालाई कोरोना संक्रमण भएछ भन्दै प्रचार गर्दै हिँडेको पाइएको छ । स्वास्थ्यकर्मीबाटै यस्तो प्रचार भएपछि गाउँ नै आतंकित बनेको छ ।
माङसेबुङस्थित स्वास्थ्य चौकीमा कार्यरत अहेव अरुण दास र सन्देश राईले माङसेबुङ गाउँपालिका २ की एक महिलालाई परिक्षण नै नगरी कोरोना भाइरसको संक्रमण भएको भन्दै प्रचार गरेका हुन् ।
सामान्य ज्वरोको एक विरामीको घरमा शुक्रबार पुगेका अहेवद्वय दास र राईले कुनै परिक्षण नै नगरी बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको र आफूहरुसँग सेफ्टी नभएकाले केही गर्न नसक्ने भन्दै उपचार नै नगरी फर्किएका थिए ।
त्यसपछि अहेवद्वयले गाउँभरी फलानालाई कोरोना भाइरसको संक्रमण भएछ भन्दै प्रचार गरेका थिए । स्वास्थ्य चौकीमा पुगेर स्टाफलाई समेत फलानोलाई कोरोना संक्रमण भएको भनेर सुनाएका थिए । समान्य गोपनीयताको समेत ख्याल नगरी प्रचार गरेपछि अहिले सो गाउँ आतंकित बनेको छ । स्थ्यकर्मीबाट त्यस्तो प्रचार भएपछि परिवार चिन्तित छ । आफूहरुलाई समेत सर्ने भयले गाउँबासीहरु समेत त्रसित बनेका छन् ।
तर कुनै परिक्षण नै नगरी कोरोना संक्रमणको पुष्टी अहेवद्वयले कसरी गरे ? भन्ने खोजीको विषय बनेको छ । यस विषयमा अहेव दासको मोबाइल नम्बर ९८१६९५३९४२ र राईको ९८१६३८४५७७ मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । यदि बिरामीलाई कोरोना भाइरसको लक्षण देखिएको भएपनि तत्काल क्वारेन्टाइनमा राखेर वा अन्य प्रकारले उपचार गर्ने व्यवस्था गर्नुपर्नेमा उपचार नै नगरी कोरोना संक्रमणको प्रचार गर्दै हिँड्नुले कर्मचारीको कर्तव्य र आचारसंहितामाथि प्रश्न उठेको छ । यदि कोरोना संक्रमणको पुष्टी नभएमा ती स्वास्थ्यकर्मीलाई कस्तो कारवाही हुने भन्ने विषय समेत उठ्न थालेको छ ।
यस विषयमा माङसेबुङ स्वास्थ्य शाखाका प्रमुख प्रदिप राईसँग सम्पर्क गर्दा आफूलाई यस विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिए । ‘मलाई यस विषयमा केही जानकारी आएको छैन, के भएको रहेछ, भोलि बुझौंला’ प्रमुख राईले भने ।
माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले यस विषयमा अहेवद्वयलाई आइतबार स्पष्टीकरण सोधिने बताए । ‘यो कुरा मैले थाहा पाउनसाथ अर्का अहेव दीपक ल्वागुनलाई निगरानीमा पठाएको थिए । विरामीको अवस्था सामान्य रहेको र कोरोना भाइरसको कुनै लक्षण नभएको जानकारी आएको छ’ अध्यक्ष इदिङ्गोले भने, ‘अहेवद्वय दास र राईलाई भोलि स्पष्टीकरण लिन्छौं । त्यसपछि कसरी अगाडि बढ्ने निर्णय गर्छौं ।’
कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण र रोकथामका लागि माङसेबुङ गाउँपालिकाले आवश्यक तयारी गरिरहेको छ । गाउँपालिका प्रवेशको ५ नाकामा सेवास्थ्य परिक्षणको व्यवस्था गरेको छ । माउँपालिका अध्यक्षको संयोजकत्वमा अनुगमन समिति गठन गरी आवश्यक खाद्य सुरक्षाको विवरण लिने तथा अनुगमनको काम गरिरहेको छ । सर्वसाधारणलाई मास्क वितरण तथा कोरोना भाइरसबाट बच्न सचेतना प्रदान गरिरहेको छ । नागरिकलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । माङसेबुङ गाउँपालिका ४ मा १० शैयाको क्वारेन्टाइन तयार गरेको छ । नयाँबुलन्दबाट

