हरप्रहर व्यूराे ।
प्रदेश नम्बर १ मा कोरोना भाइरस संक्रमणको जोखिमबाट बचाउन निर्माण गरिएका क्वारेन्टाइन व्यवस्थापनमा नेपाली सेनाले खट्ने भएको छ ।
कोराना भाइरसको संक्रमणको जोखिममा रहेका मानिसहरुलाई सुरक्षित राख्न निर्माण भएका क्वारेन्टाइनहरुको व्यवस्थापनका लागि सेनालाई जिम्मेवारी दिने निर्णय प्रदेश १ सरकारले गरेको हो । शनिबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले यस लगायत विभिन्न निर्णय गरेको प्रदेश सरकार स्रोतले जानकारी दिएको छ ।

कोरोना संक्रमणको आशंका रहेका व्यक्तिलाई क्वारेन्टाइनस्थल र अस्पतालसम्म पुर्याउने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई दिएको छ भने प्रदेशभर क्वारेन्टाइन क्षेत्रको सुरक्षा, संक्रमितहरुको सुरक्षा र जारी लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउने जिम्मा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाएको छ ।
एक करोड ६८ लाख निकासा
यसैबीच प्रदेश नं १ कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक समितिको शनिबार बसेको बैठकले सुरक्षा समितिहरुलाई एक करोड ६८ लाख रूपैयाँ निकासा गर्ने भएको छ ।
बैठकले मुख्यमन्त्री राईको संयोजकत्वमा स्थानीय तह सम्पर्क, समन्वय, प्रचार प्रसार तथा जनचेतना समिति गठन गरेको छ ।
त्यस्तै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा क्वारेन्टाइन, परिवहन व्यवस्था तथा सुरक्षा व्यवस्थापन समिति गठन भएको छ ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेको संयोजकत्वमा आइसोलेसन तथा विशिष्टिकृत अस्पताल एवं प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको छ भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियातको संयोजकत्वमा दैनिक उपभोग्य वस्तु आपूर्ति व्यवस्थापन समिति गठन भएको छ । गठित समितिहरुमा सम्बन्धित निकायका प्रतिनिधि सदस्य रहने छन् ।
प्रदेश सरकारको शनिबार बसेको बैठकले कोरोना संक्रमण विरुद्धको महाअभियानमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कर्मचारीहरुको लागि अतिरिक्त सेवा सुविधा प्रदान गर्ने समेत निर्णय भएको समाचार स्रोतले जनाएको छ ।

