बिराटनगर, २१ चैत्र ।
झापाकाे काकारभिट्टामा तयार पारिएको पर्सनल प्रोटेक्टीभ सामग्री अर्थात पिपिइ एक सय थान प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरिएको छ । स्थानीय स्रोत र साधनको प्रयोग गरि निर्माण गरिएकाे साे पिपिइ मेची अभियानकाे तर्फबाट हस्तान्तरण गरिएकाे हाे ।
कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारी तथा निजीस्तरबाट अनेकन प्रयास भए पनि संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुले बिरामीको उपचार गर्दा प्रयोग गर्ने पिपिइ सेटको अभाव भएका कारण समस्या भइरहेको अवस्थामा मेची अभियानका तर्फबाट प्रदेश १ सरकारलाई एक सय थान पिपिइ सेट उपलब्ध गराएको हो ।

आज मुख्यमन्त्री कार्यालय बिराटनगरमा नै पुगेर अभियानका संयोजक बिजय डालमिया र कोषाध्यक्ष शुशिल आचार्यले संयुक्त रुपमा मुख्यमन्त्री राईलाई उक्त पिपिइ हस्तान्तरण गर्नु भएकाे हाे।
आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की समेतको उपस्थितिमा हस्तान्तरण गरिएको पिपिइ लिदैं मुख्यमन्त्री राईले सरकारले पनि पर्याप्त मात्रामा पुर्याउन नसकिरहेको बेला स्वास्थ्यकर्मीहरुका लागि उपयोगि सामग्री उपलब्ध गराएकाेमा मेची अभियानलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
बिश्वका सबैजसो देश आ आफ्नो सुरक्षा गर्न लागेको बेला बिश्व बजारबाट सामग्री ल्याउन सरकारलाई पनि अप्ठ्यारो परिरहेका बेला स्थानीयस्तरबाट तयार गरिएको स्वास्थ्य सुरक्षा सामग्री प्रदेश सरकारलाई उपलब्ध गराएर सहयोग गरेको मेची अभियानका संयोजक डालमियाले बताउनु भयो ।
प्रदेश १ का बिभिन्न स्वास्थ्य संस्थाका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले उक्त पिपिइ प्रयोग गरिरहेको अभियानका कोषाध्यक्ष शुशिल आचार्यले बताउनु भयो ।

