मेचीनगर, १ बैशाख ।
झापाको मेचीनगरमा अवस्थित मेची नेत्रालयले मेचीनगर ६ का विपन्न परिवारालाई राहत सामग्री प्रदान गरेको छ । नयाँ वर्षको अवसर पारेर मेची नेत्रालयका कर्मचारीहरुले आफ्नोे एकदिनको तलबले सो राहत सामग्री मेचीनगर ६ का वडाध्यक्ष ललित बहादुर तामाङलाई हस्तान्तरण गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकाले लकडाउन घोषण गरेको छ । लकडाउनका कारण असंगठित दैनिक ज्यालामजदुरी गरेर खाने वडा भित्रका ७७ विपन्न परिवारलाई प्रति परिवार १५ केजी चामल, १ पोका तेल, १ केजी दाल र १ केजी नुन प्रदान गरेको हो ।
हाल मेची नेत्रालयमा ६५ जना कर्मचारी कार्यरत रहेका छन् । डा. प्रमुख देखि निम्न तलब भएकासम्म सबैले एक दिनकाे तलब कटाएर राहत वडामा हस्तान्तरण गरिएकाे हाे । नेत्रालय प्रमुख डा. शरदचन्द्र प्रकाश राईले हरप्रहरसँग कुरा गर्दै भन्नु भयाे– निम्न तलब भएका कर्मचारीसम्मकाे तलबले राहत प्रदान गरेका हाै सकभर दुरूपाेग नहाेस् ।
सन् २००७ सालमा स्थापना भएको मेची नेत्रालय मेचीनगरसँगै झापाको दमकमा पनि शाखा खोल्ने तयारीमा रहेको छ । गुणस्तरीय काम, विश्वासनीय सेवा र अस्पतालमा कार्यरत कर्मचारीहरुको शिष्टताले नेत्रालय यहाँसम्म आइपुगेको नेत्रालय प्रमुख राईले विश्वास व्यक्त गर्नुभयो ।

विभिन्न सामाजिक गतिविधिहरुमा सक्रिय मेची नेत्रालयले मेची नेत्रालय काकरभिट्टा गोल्डकप, विभिन्न समयमा विद्यालयहरुमा निःशुल्क आँखा चेकजाँज, असाहय विद्यार्थीहरुलाई पोशाक वितरण लगायतका विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ ।
नेत्रालय नेपालको पूर्वी नाका मेचीनगरको काँकरभिट्टा, बाहुनडाँगी रोडमा रहेको छ ।

