
विश्वका लाखौं नेपाली श्रोेता–दर्शकको ढुकढुकी– मेलिना राई । नेपाली संगीत जगतमा ७० को दशकयता छुट्टै स्थान बनाउन सफल मेलिनाका सयौं गीत नेपाली मन मस्तिष्कमा गुञ्जिरहेको छ । उनै लाखौं संगीतप्रेमी नेपाली श्रोता–दर्शकको ढुकढुकी मेलिनासँग कोरोनाबाट विश्व आक्रान्त यो समयमा गरिएकोे ‘लकडाउन संवाद’ प्रस्तुत छः
– लकडाउन कसरी बिताउँदै हुनुहुन्छ ?
लकडाउनका कारण फुर्सद छु । घर भित्रै समय बितिरहेको छ । लकडाउन पालना गरिरहेको छु । लकडाउनले फुर्सद जुरायो । फिल्म हेर्ने, परिवारसँग पारिवारिक गफ गर्ने, साथीसंगीसँग अनलाइनमा कुराकानी गर्ने, गेम खेल्ने क्रम चलिरहेको छ । धेरै समय रियाजलाई दिएकोे छु, गीतहरु अभ्यास गर्दै बसिरहेकी छु ।
– सामान्य अवस्था र लकडाउनको दैनिकीमा के फरक छ ?
धेरै फरक छ । विशेष गरेर भोकल र ज्यानलाई आराम मिलेको छ । अरु समय कार्यक्रम वा रेकर्डिङमा धेरै सयम दिनुपथ्र्यो । प्राय घर बाहिरै हुन्थे, अहिले घरमै छु । विहान छिटो–छिटो उठेर हतार–हतार हिन्नुपथ्र्यो जसले गर्दा खाना, खाजा पनि राम्ररी खान पाइन्नथ्यो । राजधानीमा हुँदा रेकर्डिङमा व्यस्त हुन्थे, बाहिरका कार्यक्रम हुँदा त्यस्तै हतार–हतार एयरपोर्ट पुग्नुपथ्र्यो, अत्याधिक प्रेसर हुन्थ्यो । अहिले यी सबै कुरा छैन । त्यसैले, घर बस्न पाएको छु ।
– लकडाउन बिशेष केही तालिका बनेको छ ?
पुरै समय घर भित्र नै हुने भएकाले खास त्यस्तो दैनिक तालिका छैन । आनन्दले उठेर रियाज गर्छु । आफै पनि गीत लेख्ने कोशिष गर्दैछु ।
– पेशागत रुपमा लकडाउनले कस्तो प्रभाव पर्यो ?
धेरैै असर परेको छ । तर, मलाई मात्र होइन, विश्व प्रभावित छ । पहिले तय भएका नेपाल भित्रका सिन्धुली, धनकुटा, इलाम, वनेपा, पांँचथरसहित विदेशका कार्यक्रम हुन सकेनन् । नयाँ वर्षका कार्यक्रम पनि थिए । तर, कार्यक्रम हुन नसक्नुभन्दा पनि विश्व रोइरहँदा पीडा छ । हामी बाँच्यौं भने कार्यक्रमहरु त फेरि पनि गर्न सकिन्छ ।
– तपाईको सुझाव– लकडाउन कसरी सदुपयोग गर्न सकिएला ?
सृजनात्मक कामहरुमा समय विताउन सकिन्छ । साहित्य तथा कलासँग सम्बन्धित विषयमा समय सदुपयोग गर्न सके राम्रो । मुख्य त, जुन बिषयमा रुची छ त्यसैसँग सम्बन्धित विषयमा थप अध्ययन गर्न राम्रो ।
– अन्त्यमा केही
विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमण र यसबाट बच्ने उपायबारे सबैलाई थाहा भइसकेको छ । तर, हामी अटेर गरेर संक्रमणबाट बच्ने उपायहरुको ख्याल नै नगरी सडकमा खुलेआम हिडिरहेका छौं ! यो हामी सबैका लागि खतरा हो । हामी नै सचेत हुन आवश्य छ । अत्यावश्यक कामले बाहिर निस्कन परे मास्क र ग्लोब्सको प्रयोग गर्नु होला, सामाजिक दुरी कायम गर्नुहोला । घर फर्केपछि साबुन पानीले हात मज्जाले धुनु होला । केहि दिनको यो छटपटी र उकुसमुकुस हाम्रो सुन्दर जीवनका लागि हो । सबै सुरक्षित रहनु होला !
प्रस्तुतीः भूमिका सुब्बा फियाक

