काठमाडौ, ३ बैशाख । बुधबारबाट सुरु हुँदैगरेको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ ।
भारत सरकारले कोरोना संक्रमण रोक्न लगाउँदै आएको लकडाउनको अवधि बढाएपछि अप्रिल १५ बाट हुने तय भएको आईपीएल क्रिकेट स्थगित भएको हो ।
लकडाउन समयावधि लम्बिएको कारण आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले जनाएको छ ।

बीसीसीआईले आफ्ना विभिन्न स्टेकहोल्डर सहभागी ८ फ्रेन्चाइज, ब्रोडकास्टरहरूसँग सम्पर्क गरेर आईपीएल रोकिएको तर रद्द नभएको जानकारी दिएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
बीसीसीआई अध्यक्ष सौरभ गांगुलीले देशले संकट झेलेका बेला खेल प्राथमिकतामा नरहने भन्दै आएका छन् । सरकारले मे ३ सम्मका लागि लकडाउनको समय बढाएपछि कम्तिमा मे महिनाभर आईपीएल नहुने पक्कापक्की छ ।
यसअघि आईपीएलको १३ औं संस्करण गत मार्च २९ देखि मे २४ सम्म हुने तय थियो । तर विश्वभर कोरोना महामारी फैलिएपछि र भारत सरकारले विदेशीको भिसा रोकेपछि बीसीसीआईले मार्च १३ मा आईपीएल स्थगन गर्दै अप्रिल १५ मा गर्ने जनाएको थियो ।

