इलाम, ४ बैशाख । इलामकाे चुलाचुली गाउँपालिकाले दाेस्राे चरणकाेमा ७ सय ५४ विपन्न परिवारलाई राहत वितरण गरेकाे छ । महामारीको रुपमा फैलिरहेको कारोना भाइरस (कोभिड १९)को संम्भावित संक्रमणलाई राेकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले घाेषणा गरेकाे लकडाउनका कारण असंगठित मजदुर तथा विपन्न परिवारलाई राहत वितरण गरिएकाे हाे ।
गाउँपालिकामा रहेका जम्मा ७ सय ५४ विपन्न परिवारलाई दोश्रो चरणमा खाद्यान्न राहत वितरण गरिएको चुलाचुली गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत काजिमान राईले बताउनुभयो ।

वन, वातावरण तथा विपद् व्यवस्थापन समिती चुलाचुलीका संम्योजक तथा वडा नं. १ का अध्यक्ष पुर्ण लावतीका अनुसार गाउँपालिकाले पहिलो चरणमा जम्मा ७ सय ८५ विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेको थियो । दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउने पालिकाका विपन्न नागरीकहरुको पहिचान गरी राहत वितरण गरीेरहेको उहाँले बताउनुभयो ।
गाउँपालिका राहत वितरण समितिका सदस्य सचिव तथा स्वास्थ्य शाखा प्रमुख दुस्यान्त दाहालका अनुसार दोस्रो चरणको राहत वितरणको कार्य आज नै सम्पन्न गरीएको छ । उहाँका अनुसार चुलाचुलीका ६ वटै वडामा वडाध्यक्षहरुको रोहबरमा बिहिबार एकै दिनमा राहत वितरण गरिएको हो ।
बिहिबार छुटेका केही विपन्नहरुलाई भने आउदो समयमा पनि राहत उपलब्ध गराउन सकिने उहाँले बताउनुभयो । गाउँपालिकामा जम्मा ४ हजार ५ सय घरधुरी संख्या रहेको छ ।

