मेचीनगर,५ बैशाख । झापाको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको पहलमा शुक्रबार मेचीनगरमा २३ जनामा कोरोना भाइरसको एन्टीबडी परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको छ ।
शाखा संयोजक शशीकला राईको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले नगरका विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गरी होम क्वारेन्टाईन तथा स्थानीय सरकारले सञ्चालनमा ल्याएको क्वारेन्टाईन र प्रहरी हिरासतमा रहेकाहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट रगत परीक्षण गरेको हो ।
मेचीनगर नगरपालिकाद्वारा सञ्चालित आदर्श माध्यमिक विद्यालय आयावारीको क्वरेन्टाइनमा रहेका एकजनाको भाइरसको एन्टीबडी परीक्षण गरिएको थियो भने सोहि ठाउँमा होम क्वारेन्टाइनमा रहेका अर्का एकजनाको पनि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेको शाखा संयोजक राईले बताइन् ।

आदर्श माविमा अहिले १५ जना बसेका छन् । यसअघि पनि सोहि क्वारेन्टाइनमा रहेका ८ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट रगत परीक्षण गरेको क्वारेन्टाइन व्यवस्थापनले जनाएको छ ।
यसैगरी, स्वास्थ्यकर्मीको टोलीले विभिन्न कसुरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा रहेका १० जनाको पनि कोरोना भाइरसको एन्टीबडी परीक्षण गरिएको संयोजक राईले जानकारी दिइन् ।
मेचीनगरको वडा नम्बर १, २, ३ लगायतका वडामा होम क्वारेन्टाइनमा बसेकाहरुको समेत कोरोना भाइरसको एन्टीबडी परीक्षण गरिएको थियो । परीक्षण गरिएकाहरुको रिजल्ट टोलीले बताउन नमिल्ने बताएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए । स्रोतका अनुसार सवै जनाको र्यापिड टेस्ट गर्दा एन्टीबडी नेगेटिभ आएको छ ।

