adv

प्रदेश १ काे भारतीय सिमामा ५ हजार सुरक्षाकर्मी

 

 

विराटनगर, ६ बैशाख । शुक्रबार उदपुरमा ११ भारतीयसहित १२ जनामा काेराेना संक्रमण देखिएपछि प्रदेश १ का भारतसँग सीमाना जोडिएका चार जिल्लाका सीमा क्षेत्रमा शनिबारदेखि थप कडाइ गरिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा रहेका उनीहरूमा काेराेना देखिएपछि सुनसरी, मोरङ, झापा र इलाम जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको परिचालन बढाइएको हो।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित गरेको छ । सीमा क्षेत्रमा तीन हजार सात सय सशस्त्र प्रहरी र एक हजार एक सय नेपाल प्रहरी परिचालन भएका छन् ।

दशगजामा चेकपोष्ट खडा गरी २४ घण्टा प्रहरी सुरक्षा तैनाथी बढाइएको छ । लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको सीमा क्षेत्रमा परिचालन बढाइएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नगेन्द्र थापाले जानकारी दिए ।

उनले शनिबारदेखि प्रदेशको मुख्य चार जिल्ला इलाम, झापा, मोरङ र सुनसरीमा थप पाँचसय जनशक्ति परिचालन गरिएको जानकारी दिए । लकडाउनपछि तीन हजार दुई सय सशस्त्र प्रहरी परिचालन भएकोमा शनिबारदेखि तीन हजार सात सय जना परिचालन भएका छन् ।

कुल दुई सय २९ स्थानमा सुरक्षा पोस्ट खडा गरी सुरक्षा तैनाथी बढाएको प्रदेश एक प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । नेपाल प्रहरीले चार जिल्लाको सीमा क्षेत्रलाई केन्द्रित गरी एक हजार एक सय एक जना प्रहरी परिचालन गरी सीमा क्षेत्रको सुरक्षा निगरानी र नियन्त्रणका लागि १८ जना प्रहरी निरीक्षकको नेतृत्वमा नेपाल प्रहरी परिचालन गरिएको उनले बताए ।

लकडाउनपछि दशगजा क्षेत्रको एक किलोमिटर दुरीमा सुरक्षापोस्ट शनिबारदेखि पाँचसय मिटरको दुरीमा खडा गरिएको छ । अहिले सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरी प्रत्येक पाँच सय मिटरमा सुरक्षा पोस्ट राखिएको छ ।

झापाको सीमा क्षेत्रमा सबैभन्दा बढी एक सय १४, सुनसरीमा ६९, मोरङमा ७१ र इलाममा १४ वटा नयाँ पोस्ट थपिएको छ । भारतसँग झापा, मोरङ र सुनसरीको दुई सय ७० किलोमिटर र इलामको ५२ किलोमिटर सीमा क्षेत्र रहेको छ । सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा अहिले चौबिसै घण्टा गाडी, मोटरसाइकल, साइकल र पैदल गस्ती गरिरहेको जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु