लकडाउन अवधि लम्बिएमा त्यही अनुसार समयावधि थप हुने
काठमाडाै, ६ बैशाख । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिबाना लाग्ने व्यवस्था भएको विद्युत महसुल गत फागुन र चैत्र महिनाकाे बैशाखभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था नेपाल विद्युत् प्राधिकरणले गरेकाे छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार फागुन र चैत महिनाको महसुल वैशाखभित्र तिरेमा जरिबाना छुट दिने नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय अनुसार गरेकाे छ । कार्यकारी निर्देशक घिसिङले लकडाउन अवधि लम्बिएमा त्यही अनुसार समयावधि थप हुने प्रष्ट पार्नुभयो ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अर्थतन्त्रमा समेत गम्भीर असर परेको समयमा चैत्र १६ गते मन्त्रिपरिषद्को बैठकले उपभोक्ताहरुलाई विद्युत् महसुल तथा बिलम्ब बापत लाग्ने जरिबाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो ।

निर्णयलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले जरिबाना छुट दिने निर्णय गरेको हाे ।
प्राधिकरणले चैत र वैशाखको महसुल आउँदो जेठ ६ गतेभित्रमा भुक्तानी गरेमा २ प्रतिशत छुट पाउने थप व्यवस्था गरेको छ । यसअघि यस्तो छुट सुविधा बिलिङ भएको एक हप्ताभित्रमा महसुल तिरेमा मात्रै पाउने व्यवस्था थियो ।
प्राधिकरणले वर्तमान अवस्थामा ग्राहकको घरघरमा गइ मिटर रिडिङ गर्न सक्ने अवस्था नरहेकोले सिङ्गल फेज ग्राहकहरुको चैत्र र वैशाखको बिल फागुनको बिल अनुसार नै गर्नेछ भने थ्री फेज मिटर जडान भएको ग्राहकको हकमा सम्भव भएसम्म मिटर रिडिङ गरेर वास्तविक बिल गर्नेछ ।
सिङ्गल फेज ग्राहकहरुको यी महिनाहरुको बिल पछि वास्तविक रिडिङ गर्दा फरक पर्न गएमा त्यही अनुसार बिलमा मिलान गरिने छ ।

