काठमाडाै, ७ बैशाख । नेपाल आयल निगमले एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ । विभिन्न मितिमा अनुमतिपत्र लिएर निर्माणको प्रक्रिया नै सुरु नगरेका र ग्यास बोटलिङमा ढिलाई गरिरहेका उद्योगको अनुमतिपत्र खारेज गरिएको हो ।
निगमको शुक्रबार एक सूचना जारी गर्दै विभिन्न मितिमा अनुमति लिएका ५३ मध्ये ३ वटा उद्योगले मात्रै शर्तबमोजिमको प्रक्रिया अघि बढाएको पाइएको बताएको छ ।

उद्योग विभागमा ग्यास उद्योग दर्ताका लागि निवेदन दिने र उद्योग विभागबाट निगमसँग राय प्रतिक्रिया माग गरेपश्चात सम्पर्कविहीन हुने परिपाटी बढेसँगै एलपी ग्यास उद्योग सङ्घको व्यवस्थापनमा समस्या देखिएपछि ती उद्योगको अनुमति खारेज गरिएको निगमले जनाएको छ । यसबीचमा कूल ५३ उद्योगले एलपी ग्यास बिक्री गर्न अनुमति मागेका थिए ।
अहिले खारेज भएका उद्योगहरुले २०७४ माघ १४ पछि विभिन्न मितिमा अनुमतिपत्र पाएका थिए । अनुमतिपत्रमा उल्लेख भएअनुसार समय सीमाभित्र ग्यास उठाउने गरी पीडीओ लिन नआएका उद्योगको अनुमतिपत्र खारेज भएका निगमले जानकारी दिएको छ ।



