एजेन्सी । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट विश्वभर हालसम्म एक लाख ६५ हजार भन्दा बढीको ज्यान गइसकेको छ । यस्तै विश्वभर संक्रममित हुनेको संख्या पनि २४ लाख भन्दा बढी पुगेको छ।
सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ज्यान गुमाउनेको संख्या ४० हजार भन्दा बढी पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयलका अनुसार अहिलेसम्म अमेरिकामा कम्तिमा ४० हजार ५६५ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या पनि सात लाख ५९ हजार भन्दा बढी पुगेको छ।
सबैभन्दा बढी प्रभावित भएको न्यूयोर्क राज्यको राजधानी न्यूयोर्क सिटीमा १४ हजार ४५१ जनाको ज्यान गइसकेको छ । अमेरिकामा हालसम्म ३८ लाख ६५ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउन परीक्षण भएको छ ।
इटाली, स्पेन तथा फ्रान्समा कोभिड–१९ बाट मृत्यु हुने तथा संक्रमण भइ अस्पताल भर्ना हुनेको संख्या लगातार कम हुँदै गएको छ ।इटालीमा आइतबार पछिल्लो एक हप्ता यताकै सबैभन्दा कम व्यक्तिको ज्यान गएको छ । आइतबार कोभिड–१९ बाट इटालीमा ४३३ जनाको ज्यान गएको हो ।

आइतबार तीन हजार ४७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन इटालीमा ३४ सय ९१ जनामा संक्रमण पुष्टि भएको थियो । इटालीमा हालसम्म २३ हजार ६६० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ७८ हजार ९७२ रहेको छ ।
यस्तै स्पेनमा पनि आइतबार एक महिना यताकै सबैभन्दा कम व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको छ । आइतबार स्पेनमा ४१० जनाको ज्यान गएको हो ।
आइतबार नयाँ संक्रमितको संख्या पनि मात्रै ४२ सय १८ रहेको जनाइएको छ । स्पेनमा हालसम्म २० हजार ४५३ जनाको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या एक लाख ९८ हजार ६७४ रहेको छ ।
फ्रान्समा अस्पताल भर्ना गर्नु पर्ने बिरामी निरन्तर पाँचौँ दिन घटेका छन् । आइतबार अस्पतालमा २२७ तथा नर्सिङ्ग होममा १६८ जनाको मृत्यु भएको छ । योसँगै फ्रान्समा अहिलेसम्म १९ हजार ७४४ जनाको ज्यान गएको छ ।
संक्रमितको संख्या एक लाख ५४ हजार ९७ पुगेको छ । फ्रान्समा आइतबार कोरोना भाइरसको संक्रमण भएका कुल ३० हजार ६१० बिरामी अस्पतालमा रहे । यो अघिल्लो दिनको तुलनामा कम हो ।

