काठमाडौँ, ९ वैशाख । नेपाल टेलिकमको सिम कार्डमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले अब निःशुल्क सेवा लिन सक्ने भएका छन् ।
अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर उक्त सेवा लिन सक्ने भएको हो ।

लकडाउन अवधिभरी कसैले पनि पैसा नहुँदा सञ्चार सेवाबाट वञ्चित हुन नपरोस भन्ने उदेश्यले टेलिकमले निःशुल्क सेवा दिन लागेको हो ।ब्यालेन्स न्यून भएर फोन गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेजमा २५ वटा अन–नेट एसएमएस, ५० मिनेट अन–नेट भ्वाइस, १०० एमबी डाटा, प्याकेजको अवधि सात दिनको हुनेछ ।
उक्त प्याकेज आगामी दुई दिनसम्म उपलब्ध गराइनेछ, सो प्याकेजको प्राप्त गर्ने ग्राहकलाई एसएमएसमार्फत जानकारी पठाइने, उक्त एसएमएसको निर्धारित जवाफ एसएमएसमार्फत पठाएर प्याकेज लिन सकिने, सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाइ जानकारी गराइने छ ।
उक्त प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई उपलब्ध हुने छ ।

