इलाम : ब्लड क्यान्सरबाट पीडित इलाम नगरपालिका वडा नम्बर ५ बरबोटे का १९ वर्षीय किशोरु सोमनाथ ढकालका परिवारले उपचारका लागि सहयोगको याचना गरेका छन् ।
आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा समस्या भएको भन्दै उनको परिवारले सहयोगको याचना गरेका हुन् । १७ दिनदेखि सोमनाथको काठमाण्डौं महाराजगञ्जस्थित टिचिङ्ग अस्पतालमा उपचार भइरहेको छ । उपचारको क्रममा हालसम्म पाँच लाखभन्दा बढी खर्च भइसकेको उनका बाबु गोपाल ढकालले बताए ।
कक्षा ११ मा अध्ययनरत सोमनाथको टाउँको दुख्ने समस्याका कारण विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका लागि लगिएको थियो । विएण्डसी अस्पतालले क्यान्सरको आशंका गरेर टिचिङ्ग रेफर गरेको थियो । टिचिङ्गमा परीक्षण गर्दा ब्लड क्यान्सर (ल्यूकोमिया) भएको देखिएकाले अहिले सोही अस्पतालमा उनको उपचार भइरहेको छ ।
विएण्डसी अस्पतालमा ४२ हजार पाँच सय बुझाउने पैसा नहुँदा फुपुको गहाना धरौटी राखेर अस्पतालबाट निकालेर काठमाण्डौ लगेको सोमनाथका काका राजन ढकालले बताए । तत्काल पैसा नभएको र लक डाउनले पसलहरु बन्द भएकाले अस्पताललाई गहनानै धरौटी राखेर विरामीलाई विएण्डसीबाट निकालिएको उनले बताए ।
‘ऋण काढेर साढे चार लाख रुपैयाँ पठाएका छौं’ राजनले भने, ‘अहिले सबैबाट सहयोग संकलन गर्न थालेका छौं ।’ उपचारमा २० लाखभन्दा बढी रकम लाग्ने अस्पतालले बताएको उनका सोमनाथका बाबु गोपाल ढकालले बताए । ‘मेरो छोरालाई बचाउन सबैसँग सहयोगको अपिल गर्दछु’ उनले भने, ‘अब केही गरिदेला भन्ने बेलैमा छोरा विरामी भएका छन्, उपचारका लागि पैसा छैन, सबैले सहयोग गरिदिए छोरो बाँच्ने थियो ।’
सोमनाथको उपचार सहयोगार्थ स्थानीय युवाहरुले सोमनाथ ढकाल बचाऊ अभियान सञ्चालन गरेर चन्दासमेत उठाइरहेका छन् । सहयोग संकलनका लागि प्राइम कर्मर्सियल बैंक लिमिटेडमा बैंक खाता पनि खोलेका छन् ।
बैंकको १०१००११९ सीएमा सहयोग उपलब्ध गराउन पनि अनुरोध गरिएको अभियन्ता युवा दिपक ढुङ्गानाले आग्रह गरेका छन् ।

