मेचीनगर,१० बैशाख। विश्वभर कोरोना भाइरस (कोभिड १९) को जोखिम बढिरहेको अवस्थामा पुर्वी नाका झापा काकरभिट्टाको इलाका प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा डिसइन्फेक्सन टनेल आज जडान गरिएको छ ।
मेची अभियानको संयोजन र मेचीनगर–६ का छ वटा सहकारीको सहयोगमा उक्त डिसइन्फेक्सन टनेल मंगलबार जडान गरिएको हो ।

टनेल भित्र रहेका ५ वटा नोजलबाट इ एम घोलसंग मिश्रण गरिएको पानीको फोहोराले मानिसको पुरै शरीरको बाहिरी भाग भिजाउनेछ र शरीरको बाहिरी भागमा रहेको भाइरस नष्ट हुने भएकाले शरीरलाई डिसइन्फेक्सन गराएर मात्र प्रहरी कार्यालय भित्र प्रवेश गर्ने ब्यवस्था गरिएको इलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताउनु भयो ।
काकरभिट्टामा रहेका ६ वटा सहकारी संस्थाहरु महेन्द्रद्वार सहकारी संस्था, आधुनिक बचत तथा ऋण सहकारी संस्था, मखमली महिला बचत तथा ऋण सहकारी संस्था, मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्था, नागरिक बचत तथा ऋण सहकारी संस्था र काकारभिट्टा बचत तथा ऋण सहकारी संस्थाको संयुक्त लगानीमा तयार गरिएको टनेल आज इलाका प्रहरी कार्यालयमा जडान गरिएको मखमली महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राधा प्रधान कार्कीले बताउनु भयो ।

टनेल निर्माणका लागि खर्च भएको ४० हजार रकम ६ वटै सहकारी संस्थाले दामासाहीले संकलन गरेको महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहाल बताउनु भयो । टनेल हस्तान्तरण कार्यक्रममा आधुनिक सहकारी संस्थाका अध्यक्ष अंगतबहादुर थापा, काकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भुपाल शिवाकोटी, मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाका अध्यक्ष भगिरथ राई लगायतको उपस्थिति रहेको थियो ।

