काठमाडौँ ,१० बैशाख । कोरोना भाइरसबाट कुबेतमा थप ५ नेपाली कामदार संक्रमित भएका छन् । यो सँगै कुवेतमा संक्रमित नेपालीको संख्या २९ पुगेको छ ।
कुवेतका स्वास्थ्य मन्त्रालयबाट बुधबार सार्वजनिक रिपोर्टअनुसार क्वारेन्टाइनमा राखिएका नेपालीसहित एक सय ६८ जनामा पोजिटिभ देखिएको हो । सबैभन्दा बढी भारतीय कामदारलाई देखिएको छ । हालसम्म कुवेतमा संक्रमितको संख्या २२ सय ४८ जनालाई पोजिटिभ देखिएको छ ।

नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीका देश र मलेसियामा अहिलेसम्म ९४ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ । ६ जना भने निको भएर काममा फर्किएका छन् ।
बहराइनमा ४९, यूएईमा ११, साउदीमा ४, कुवेतमा २९ र मलेसियामा १ जना गरी जम्मा ९४ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको छ । यसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा एक गरी ६ जना निको भएर काममा फर्किएका छन् ।

