वीरगञ्ज, १० बैशाख । बारा जिल्लाको सुवर्ण गाउपालिकाका एक युवालाई बालविवाह गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
सोमबार राति बाराको महागढीमाई नगरपालिका वडा नम्बर ११ मधुरी जब्दी टोलकी १५ वर्षीया किशोरीसँग बालविवाह गरेको आरोपमा सुवर्ण गाउपालिका वडा नम्बर ६ का युवा राजेश कुमार यादवलाई पक्राउ गरेको हो।
सोमबार राति भिड जम्मा नगरी केटीको घरमा पुगी बालविवाह गरेको भन्ने खबर पाएपछि यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
बालविवाह गरेको आरोपमा पक्राउ परेका यादवलाई प्रहरी हिरासतमा राखी उनले बिहे गरेकी किशाेरीको उमेर प्रमाणित गर्ने कागजातहरु लिएर आउन भनिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
उनले यादवले बिहे गरेको केटीको जन्म प्रमाणित हुने कागजातहरु ल्याउन केटी पक्षलाई भनिसकिएको तथा त्यो कागजात आएपछि बालविवाह हो कि होइन भन्ने कुरा यकिन हुने बताए । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको मिश्रले बताए।
देशभरि लकडाउन रहेको बेला विवाह गर्न लागिएकोले केटी पक्षको घरमा कुनै सजावट तथा मण्डप केही पनि बनाइएको थिएन। सोमबार राति युवक टेम्पोमा चढेर आएको र बिहे गरी केटी लगेको स्थानीयबासीले बताएका छन्।

