
खोटाङ– बेलायतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण एक नेपाली युवतीको मृत्यु भएको छ ।
खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखा पुर्खौली घर भइ हाल धरान आदर्श विकास टोलमा बस्दै आएकी ३२ वर्षीय बिमा नाछिरिङ राईको मृत्यु भएको हो ।
मिर्गौला सम्बन्धी समस्याबाट पीडित मृतक राईलाई कोरोनाको संक्रमण भएको पुष्टी भएपछि जर्ज इलियट अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको बेलायतबाट सञ्चालित खोटाङ मिडिया डटकमले उल्लेख गरेको छ ।

हालसम्म अविवाहित राईको मंगलबार बिहान मृत्यु भएको समाजसेवी एवं ब्रिटिस गोर्खा भेट्रान एसोसिएसनका महासचिव भीम सारुले बताए । उनी पूर्व गोर्खा सैनिक बाबुसँगै गत वर्ष बेलायत पुगेकी थिइन् ।
बाबुआमा र बहिनीका साथमा नटिङ्घम बसिरहेकी बीमाको मृत्युको विषयमा किरात रदु नाछिरिङ साखाम केन्द्र, केन्द्रीय समिति नेपालले आफ्नो फेसबुक पेजमाफैत दुःख व्यक्त गरेको छ ।

हालसम्म बेलायतमा बसिरहेका खोटाङ्गका मात्र १२ जना कोरोना संक्रमण भएको खोटाङ सेवा समाज यूकेले जनाएको छ ।

