
मेचीनगर,१२ बैशाख । झापाको मेची उद्योग बाणिज्य संघ मेचीनगरले उपभोक्ताका लागि सर्वसुलभ मुल्यमा खाद्यन्नको विक्री शुरु गरेको छ । देशको विषम परिस्थितीमा उपभोक्ताहरुले खाद्यन्नको अभाव व्योहोर्नु नपरोस र विचौलियाका कारण ठगिनु नपरोस भन्ने उदेश्यले संघले शुरु गरेको हो ।

ग्रामीण क्षेत्रका उपभोक्ताहरुलाई लक्षित गरेर संघले जिल्लामै पहिलो पटक यो अभियान शुरु गरेको दावी गरेको छ । संघले विभिन्न उद्योग र मिलहरुबाट खाद्यन्न सामग्री सोझै खरिद गर्ने र त्यसलाई प्याकेजिङ गरी हरेक उपभोक्ताको घर घरमा पुर्याउने लक्ष्यसहित अभियान शुरु गरेको संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताए ।
पहिलो चरणमा मेचीनगरका १ देखि वडा नम्बर ४ सम्मका उपभोक्तालाई सहज रुपमा खाद्यान्न उपलब्ध गराउने अध्यक्ष तिम्सिनाको भनाई छ । यसका लागि ५० टन चामल, ५ टन दाल २ ÷२ केजी सेलो र तोरी खानेतेल, १० हजार केजी आटा, १ सय बोरा आयोडिनयुक्त नुन भण्डारण गरिसकेको संघका उद्योग उपाध्यक्ष किशोर क्षेत्री कपिलले जानकारी दिए । लोड अनलोडमा खर्च कम गर्ने र त्यस वापत हुने खर्च कम होस् भनेर ती वस्तुको लोडअनलोड समेत संघका पदाधिकारीहरु आफैले गरेको वरिष्ठ उपाध्यक्ष मोहन निरौलाको भनाई छ ।

बजारको पहुँच भएका क्षेत्रमा यो अभियान सञ्चालन नहुने संघको भनाई छ ।संघले आफ्नो लागत मुल्यमा प्याकेजिङ र ढुवानी खर्च जोडेर सर्वसुलभ मुल्यमा ती खाद्यन्न विक्री गर्ने कार्यकारिणी सदस्य दीपेन्द्रराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार प्याकेजिङ गरेका ती वस्तु ट्रकमा हालेर संघका पदाधिकारी तथा कर्मचारीहरु आफै विक्री वितरणका हिड्ने अध्यक्ष तिम्सिनाले बताए ।
विश्वभर आतंकका रुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन र नियन्त्रण गर्ने उद्घेश्यले नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण सर्वसाधारणको दैनिकी सहज बनाउनका लागि संघले यस्तो अभियान शुरु गरेको हो । ‘

