झापा, १३ बैशाख । झापाको दमकमा एक वृद्धामा कोरोना पोजेटिभ देखिएपछि दमकको केही भाग सिल गरिएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिले सिल गर्ने निर्णय गरेको छ । शुक्रवार राती बसेको आपत्कालीन बैठकले यस्तो निर्णय गरेको हो ।
दमक–३ निवासी ६२ वर्षीय वृद्धमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । उक्त वडाका स्थानीयवासीमा कोरोना संक्रमण परीक्षणलाई तीव्र पार्नुका लागि निश्चित क्षेत्र तोकेर सिल गरेको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् ।

कोरोना भाइरस सङ्क्रमणको परीक्षण गर्नुपर्ने भएकाले दमक नगरपालिकाको उत्तरमा मावा पुलदेखि बेलडाँगी १ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजमार्ग उत्तर सिल गरिएको छ । यसै गरी पूर्वमा हिमालय माविदेखि बेलडाँगी १ सम्म र पश्चिममा मावा खोला सम्म सिल गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यो चार किल्ला भित्र आवतजावत लगायत कुनै पनि गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ, विज्ञप्तिमा भनिएको छ ।


