काठमाडाैं,१३ बैशाख । सरकारले एक महिनादेखि जारी गरेको लकडाउनलाई थप एक साता लम्ब्याउन कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सुझाव दिएको छ।
शनिबार बसेकाे उच्चस्तरीय समन्वय समितिकाे बैठकमा लकडाउन खाेल्ने वा नखाेल्ने वा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएकाे थियाे ।
छलफलमा समितिका सदस्यहरुले तत्काल पूर्ण रुपमा लकडाउन खाेल्न सक्ने अवस्था नरहेकाे बरु निश्चित ठाउँमा लकडाउनकाे स्वरुप परिवर्तन गर्न सकिने सुझाव दिएकाे समितिका एक सदस्यले खबरमञ्चलाई जानकारी दिए । लकडाउनकै कारण काेराेना संक्रमण फैलन नदिन धेरै हदसम्म सरकार सफल भएकाे भन्दै तत्काल लकडाउन खाेल्न नहुने धेरैकाे राय थियाे ।

उच्चस्तरीय समन्वय समितिकाे बैठक लगत्तै लकडाउनकाे माेडालिटिका सम्बन्धमा मुख्यसचिवकाे नेतृत्वमा रहेकाे कार्यदलकाे बैठक पनि बसेकाे ती सदस्यले बताए ।
कार्यदलकाे सुझाव र समितिमा भएकाे छलफलका आधारमा लकडाउन अरु एक साता लम्ब्याउन सिफारिस गर्ने तयारी भएकाे ती सदस्यले बताए ।
अब समितिबाट आएकाे सिफारिसका आधारमा आइतबार बस्ने मन्त्रीपरिषद बैठकले लकडाउनका सम्बन्धमा निर्णय लिनेछ ।

