
काठमाडौं, १४ बैशाख । गैरआवासीय नेपालीहरु शेष घले र जमुना गुरुङ्गद्वारा स्थापित एमआईटी ग्रुप फाउण्डेसनले नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । फाउण्डेसनका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
फाउण्डेसनका अध्यक्ष शेष घलेका अनुसार यात्रामा भइरहेको अवरोधका कारण हामी स्वयं उपस्थित हुन नसकेको कारण प्रतिनिधिहरुले सो रकम हस्तान्तरण गरेको हो । अध्यक्ष शेष घलेले भने-आशा छ यो रकम नेपाल सरकारले कोरोना नियन्त्रण र निर्मूलका लागि परिक्षण, निगरानी र उपचार लागि खर्च गर्न सदुपयोग गर्ने छ ।

यसअघि नेपालमा आइपरेका ठूला विपतहरु भूकम्प एवं नाकाबन्दी तथा बाढीका बेला पनि फाउण्डेसनले विभिन्न सहयोग गर्दै आएको थियो । देश तथा देशवासीहरु हरेक दुःख तथा समस्याका घडीमा फाउण्डेसन सदैव आफूले सकेको हरेक सहायताको लागि तत्पर रहने अध्यक्ष घलेले बताए । तस्बिर:अनलाइनखबर

