काठमाडौँ — सत्तारुढ नेकपाको सचिवालय बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टी भित्रको आन्तरिक समस्या र स्थायी कमिटीका २० सदस्यले माग गरेको स्थायी कमिटी बैठकबारेमा छलफल भए पनि कुनै निष्कर्षमा नपुगेको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले २० गते बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठक र अरु निर्णय पनि गर्ने बताए । प्रवक्ता श्रेष्ठले सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता र सुदृढीकरणको महत्व, सरकार र पार्टीको स्थायी कमिटी बैठक र यससँग जोडिएको विविध विषयमा विचारविमर्श भएको बताए । उनले पार्टीको नेतृत्व टीमले अनौपचारिक प्रक्रिया अगाडि बढाउँदै यही २० गते पुन: सचिवालय बैठक बस्ने निर्णय भएको बताए ।
‘सचिवालयको बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकताबद्ध ढंगले अगाडि बढाउने र जनादेशअनुसार सामाजिक आर्थिक रुपान्तरणको प्रक्रिया अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिनेछ र आवश्यक प्रस्ताव तयार गर्नेछ । र, त्यही बैठकले नै माग भइआएको स्थायी कमिटी बैठकको पनि टुंगो लगाउनेछ,’ उनले भने ।कान्तिपुरबाट

