adv

रोल्पामा बम विस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु

काठमान्डौ ,१८ बैशाख। बिहीबार साँझ ६ बजे रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विस्फोट हुँदा ४ जना बालबालिकाहरुको ज्यान गएको छ ।

त्रिवेणी गाउँपालिका-४ गैरी गाउँको मैतीगातिनामा बम विस्फोट हुँदा ४ जना बालबालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले बताए ।

साँझ ६ बजेतिर भएको उक्त घटनामा मृत्यु हुनेमध्ये दुई बालबालिका एकै परिवारका रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेहरुमा ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, ११ वर्षीय गौरव नेपाली र १३ वर्षीय नेखीराम डाँगी छन् ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ । शव नजिकै अर्को बम पनि फेला परेकाले सेनाको डिस्पोजल टोली त्यहाँ पुगेपछि मात्रै शव उठाइने प्रहरीले जनाएको छ ।

बाख्रा चराएर जंगलबाट घर फर्कने क्रममा बम विस्फोट भएको अनुमान गरिएको छ । घटनास्थलमा ग्रिनेट बम रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष भानबहादुर घर्तीले शव नजिकै अर्को बम पनि रहेको बताए । वडाध्यक्ष घर्तीले भने,’घटना हेर्दा उनीहरुले जंगलबाट बम फेला पारेर ल्याएको र त्यो पड्किएको जस्तो देखिन्छ । अर्को बम पनि शव नजिकै भेटिएकाले आशंका गरेका हौं ।’

शव क्षतविक्षत अवस्थामा रहेको र शव नजिकै बम रहेकाले सेनाको डिस्पोजल टोलीले निष्क्रिय गरेपछि मात्रै शव उठाइने प्रहरीले जनाएको छ । कान्तिपुरबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु