झापा,१८ बैशाख । झापाको बाह्रदशी गाउँपालिका-४ का ५० वर्षीय कोरोना संक्रमित व्यक्ति घुलमिल भएका तीन वडा तीन दिनदेखि सिल गरिएको छ। गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीकाले वडा नम्बर ३ र ५ को केही भाग र ४ को पूरै बस्ती सिल गरिएको जानकारी दिए।
यी तीन ठाउँमै मानिसहरूको आवतजावत बन्द गरिएको छ। अध्यक्ष राजवंशीले सबै मानिसलाई आ-आफ्नो घरम बस्न आग्रह गरेको बताए।संक्रमित व्यक्ति भने विराटनगरको कोसी अस्पतालमा उपचाररत छन्।
उनीसँगै सम्पर्कमा आएका ६२ जना व्यक्तिको स्वाब परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ देखिएको छ। ‘भोलि जिल्लाबाट स्वास्थ्यकर्मीको टोली आउँदैछ। थप छलफल गरेर कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्छौ,’ अध्यक्ष राजवंशीले भने।

संक्रमित पुरूष फागुनको अन्तिम साता भारतको दिल्लीबाट आएको खुलेको छ। उनी दिल्लीको धार्मिक सभा तब्लिगी जमातमा सहभागी भएर फर्केका हुन्। त्यहाँबाट घर आएर उनी होम क्वारेन्टिनमा बसेका थिए।
वैशाख ९ गते उनको स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि उनी गाउँमा घुलमिल गरेका थिए। त्यसपछि नतिजा स्पष्ट नआएको भन्दै उनको पुनः परीक्षणको लागि १३ गते स्वाब पठाइयो। जसमा १४ गते नतिजा पोजेटिभ आयो।
सुरूमा नतिजा नेगेटिभ आएपछि उनी परिवार र आफन्तकहाँ आवतजवात गरिएको बुझिएको छ। अहिले उनको सम्पर्कमा आएका व्यक्तिहरूको थप विवरण लिने काम भइरहेको छ। सेतोपाटीबाट

