काठमाडौँ, १९ बैशाख । संसद्को प्रमुख प्रतिपक्ष कांग्रेसले बिहीबार रोल्पामा भएको बम विस्फोटको घटनाको गम्भीर अनुसन्धानको माग गरेको छ । घटनाका दोषीलाई कारबाही गर्न पनि कांग्रेसले माग गरेको छ ।
बिहीबार साँझ रोल्पाको त्रिवेणी गाउँपालिकामा बाख्रा चराउन गएका चार बालबालिकाको बेवारिसे बम बिस्फोटमा परेर ११ वर्षीया विमला खत्री, ५ वर्षीय विजय खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगीको मृत्यु भएको थियो।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चार अबाेध बालबालिकाको मृत्यु भएको यो घटनाबाट कांग्रेससँगै सिंगो देश मर्माहत भएको बताएका छन् । ‘द्वन्द्वको दशकले छाडेका चोटहरु खाटा बस्न एकातर्फ अझै बाँकी छ तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ । यसले हिंसाबाट समाधान खोज्न चाहने सबै थरीलाई हृदयदेखि गम्भीर र आत्मालोचित बनाउने अपेक्षा छ,’ विज्ञप्तिमा भनिएको छ।
यो घटनाको गहिरो अनुसन्धान गर्न सरकारसँग माग गर्दै कांग्रेसले भनेको छ, ‘जहाँ कहीँ पनि होलान्, यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ।’

