adv

ताप्लेजुङको फुङ्लिङमा आगलागी ७ घर जल्यो, करिब ३३ परिवार बिस्थापित

ताप्लेजुङ, २० वैसाख । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति आगलागी भएको छ । फुङ्लिङ बजारको माथिल्लो रोडस्थित पूरानो बैंकलाइन ट्याक्सी काउन्टर क्षेत्रमा भएको आगलागीबाट सात घर पूर्णरुपमा जलेकाे हाे ।

शुक्रबार राती १० बजेबाट शुरु भएको आगलागी करिव अढाइ घण्टापछि फुङ्लिङ नगरपालिकाको वारुणयन्त्र, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा नियन्त्रणमा आएको थियो ।

सात घर आगलागीले नष्ट हुँदा पसल व्यवसाय सञ्चालन गर्दै आएकासमेत करिव ३३ परिवार विस्थापित भएका प्रारम्भिक तथ्याङ्क सङ्कलन भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । यद्यपि यथार्थ विवरण भने आउन बाँकी नै रहेको समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।
प्रारम्भिक जानकारीअनुसार टेकबहादुर लेछर्बो, बिष्णु केसी, अमृत कार्की, खेम केसी, नेत्र कार्की लगायतको घर ध्वस्त भएको छ । आगलागी भण्डारी खाजाघरको किचनबाट सुरु भएको स्थानीयले बताएपनि कुन घर र के कारणले आगलागी भएको हो भन्ने यकिन भई नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले जानकारी दिए । खड्काले लगत सङ्कलनको कार्य धमाधम भइरहेको बताए ।
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु