adv

महोत्तरीमा अज्ञात रोगले ज्यान गुमाउनेको संख्या ११ पुग्यो

महोत्तरी : महोत्तरीको बिजलपुरा र मेधनाथ गोरहन्नामा अज्ञात रोगले १० दिनमा ११ जनाको मृत्यु भएको छ।

मृत्युको कारण भने खुल्न सकेको छैन। शनिबार राति २ बजेतिर भंगहा नगरपालिका-६ जमुनियाँका पल्ट साहको मृत्यु भएसँगै रहस्यमय तरिकाले मृत्यु हुनेको संख्या ११ पुगेको हो।

 बैशाख १० गते यता बर्दिबास नगरपालिका -१२ स्थित बिजलपुराको जुरीटोल र अहिमान टोलमा ४ जनाको मृत्यु भएको छ। त्यसैगरी भंगहा नगरपालिका-६ हत्तिसर्वाको जमुनियाँ र  वडा नम्बर-७ को मेघनाथ गोरहन्नामा ७ जनाको मृत्यु भइसकेको छ।

मृत्यु भएकाहरुमा अचानक पेट दुख्ने, श्वास लिन ग्राहो हुने, बान्ता र झाडापखाला लाग्ने लक्षण देखा परेको छ। कतिको राति ओछ्यानमै सुतेको अवस्थामा मृत्यु भएको छ भने कतिको उपचारकै क्रममा ज्यान गएको हो।

लकडाउनका बेला अज्ञात रोगबाट मृत्यु भएको भन्दै गाउँले त्रसित बनेका छन्।

भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले घरेलु मदिराको सेवनले ती स्थानीयको मृत्यु हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए। बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले मृत्युको कारण शवपरीक्षण जाँचले निर्क्यौल गर्ने जानकारी दिए।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट शनिबार डा. अमृत पोखरेल र विश्व स्वास्थ्य सङ्गठनका डा. सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली यी बस्तीमा पुगेको छ। टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको डा. पोखरेलले बताए।

मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव (सिताई) महराको शव परीक्षण गरिएको छ। परीक्षण रिपोर्ट आएपछि मृत्युको कारणबारे यकिन हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

यसैबीच जिल्ला प्रहरी कार्यालयले मृतकमध्ये दुईको कोभिड–१९ सङ्क्रमण हो/होइन यकिन गर्न स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशाला पठाइएको जनाएको छ।

‘मृतकको आरडिटी जाँच परिणाम नेगेटिभ आएको छ’, प्रहरी उपरीक्षक अधिकारीले भने, ‘अब पिसिआर जाँचको र परीक्षण रिपोर्ट आएपछि यकिन हुनेछ।’

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु