काठमाडौं , ३० वैशाख । नेपालका दिवेश पोखरेल विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट (टप) सातभित्र पर्न सफल भएका छन्।
उनले आइतबार डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए। आर्थर गन उपनामले चिनिने गायक पोखरेल अमेरिकन आइडलमा यो स्थानमा पुग्ने उनी पहिलो नेपाली हुन्। उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो ।

अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय वर्षअघि अमेरिका गएका हुन्। काठमाडौंको एस कलेज इन्स्टिच्युटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए।
अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ । पोखरेलको भोटिङ्ग कोड १६ रहेको छ। दुई सातादेखि नै प्रतिस्पर्धीलाई भोट दिन मिल्ने भएको छ। अमेरिकन आइडलमा एसएमएस, अमेरिकन आइडलको वेबसाइट र अमेरिकन आइडलको एप डाउनलोड गरेर भोट गर्न सकिने व्यवस्था मिलाएको छ। तीनवटा माध्यमबाट एकजनाले १० पटक गरेर ३० भोट गर्न सकिन्छ।

