काठमाडौं,२९ बैशाख । नेपालमा आज सोमबार एकैदिन थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जना कपिलवस्तु, ६ जना रुपन्देही र बर्दियामा १ जनामा संक्रमण देखिएको छ।
संक्रमितहरू कपिलवस्तुको यशोधरा -८ र बुद्धभूमि नगरपालिका-७ निवासी १५,१९, २३, ३०,३२ र ३८ वर्षीय पुरूष रहेका छन्। त्यस्तै, रुपन्देही सम्मरीमाई गाउँपालिका-७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका -६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरूष रहेका छन् भने बर्दिया राजापुर-५ की ११ वर्षीय बालिका छिन्।

उनीहरूको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले बताएको छ।
यसअघि आजै ११ जना संक्रमित भेटिएका थिए। योसँगै नेपालमा संक्रमित संख्या १३४ पुगेको छ।

