काठमाडौँ, १ जेष्ठ । गृह मन्त्रालयले एउटै जिल्लाभित्रका लागि जारी गरिएका सबै सवारी पास पनि खारेज गर्ने निर्णय गरेको छ।
यो निर्णय शनिबारदेखि लागू गरिने छ। गृह मन्त्रालयले यसअघि एउटा जिल्लाबाट अर्को जिल्लामा जान जारी गरिएका सवारी पास पनि खारेज गर्ने निर्णय गरेको थियो।

बाहिरबाट काठमाडौं उपत्यका आउनुपरे गृह मन्त्रालयको पूर्व स्वीकृति चाहिने निर्णय भएको थियो।
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जिल्लाभित्र सवारी पास जारी भई सवारी साधनको भिड भएपछि यस्तो निर्णय गरिएको जानकारी दिए। यो देशभरका लागि लागू हुने छ।
जिल्ला प्रशासन कार्यालयले आवश्यकता हेरी जिल्लाबाहिर जान र जिल्लाभित्रै एक ठाउँबाट अर्को ठाउँ जानका लागि सवारी पास जारी गर्दै आएको थियो।

