काठमाडौं ,४ जेष्ठ । विश्वभर हालसम्म कोरोना भाईरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ९६ पुगेको छ।
गैर आवासीय नेपाली संघ (एनआरएन) का अनुसार कोरोना भाईरसको संक्रमणका कारण शनिबार (१६ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ९६ पुगेको हो ।
एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ ।
यस्तै संयुक्त राज्य अमेरिकामा १५ जना, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १ र नेपाल १, जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. संजिव सापकोटाले जनाएका छन्।

मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला रहेका छन् । यो साता मात्र ज्यान गुमाउनेको संख्या १८ पुगेको छ। युके १२, युएई ३, साउदी अरब २ र नेपाल १ रहेको स्वास्थ्य समितिले जनाएको छ ।
नेपाल बाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । ती मध्ये मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोप १९, एशियामा ५, प्रतिशतमा संक्रमणमा देखिएको छ । अष्ट्रेलियामा १ प्रतिशत भन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छैन् ।
संक्रमितमध्ये ३५ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना भाइरस संक्रमणबाट निको भएको समितिले जनाएको छ।
स्वास्थ्य समितिका अनुसार कतार २ हजार ५ सय, अमेरिका १ हजार ६ सय, युके १ हजार २ सय २१, बहराइनमा ३ सय ११, युएई २ सय, कुवेत ८४, नेपाल २८१, साउदी अरबमा ६ सय ७४, मलेसिया ४९, पोर्चुगल २९, आयरल्याण्ड २२, स्पेन १३, क्यानाडा १३, अष्टे«लिया १२, जापान १०, माल्दिभ्स १०, बेल्जियम ६, स्वीडरल्याण्ड ५, जर्मनी ४, फिनल्याण्ड ४, साईप्रस ३, न्युजिल्याण्ड ३, माल्टामा २, हङ्गकंङ्ग २, पोल्याण्ड २, म्यानमार १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ । एजेन्सी

