adv

उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छैन: क्रिमसन अस्पताल

रूपन्देही, ७ जेष्ठ । रूपन्देहीको तिलोत्तमा स्थित क्रिमसन अस्पतालले आइसियूमा उपचाररत गुल्मीका कोरोना भाइरस संक्रमितको मृत्यु नभएको जनाएको छ। बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको अहिले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको बताएको छ ।

एकाध सञ्चारमाध्यममा मृत्युको खबर आए पनि त्यो सत्य नभएको अस्पतालले विज्ञप्ति जारी गर्दै बताएको हो। ‘केही सामाजिक सञ्जाल तथा मिडियाहरुमा बिरामीको मृत्यु भएको भन्ने गलत भ्रामक, अतिरंजीत समाचार सम्प्रेषण भई सम्पूर्ण जनसमूदायमा अनावश्यक त्रासको वातावरण सृजना भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

अस्पतालका अनुसार गुल्मी मदानेका ती संक्रमित अहिले भेन्टिलेटरमा उपचाररत रहेका छन्। उनको फोक्सोमा समस्या रहेकाले कृतिम श्वासप्रश्वास दिइएको छ। ‘बिरामीको अस्पतालमा आइसीयु कक्षमा भेन्टिलेटर सपोर्टमा उपचार भइरहेको र निजको अवस्था गम्भीर रहेको छ,’ विज्ञप्तिमा लेखिएको छ।

गलत सूचना
प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले नै उपचाररत बिरामीको मृत्यु भएको भनी गलत सूचना दिएका छन्। त्यही सूचनाका आधारमा केही सञ्चार माध्यममा कोरोना पोजेटिभका तेस्रो बिरामीको मृत्यु भन्ने समाचार प्रकाशित भएको थियो।

मन्त्री बरालले हचुवाका भरमा गलत सूचना दिएको अस्पतालको दाबी छ। सामाजिक विकास मन्त्रालय मातहतका कुनै पनि निकायले बिरामीको मृत्यु भएको पुष्टि गरेका छैनन्। स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले मृत्यु नभएको बताए। ‘हामीलाई सूचना आएको छैन, बुझ्ने प्रयासमा छौं’, उनले भने।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु