बिर्तामोड,१९ जेष्ठ । झापाको बिर्तामोड नगरपालिकालाई रोटरी क्लब अफ बिर्तामोड र रोट्याक्ट क्लब अफ बिर्तामोडले दुई थान स्वाब कलेक्सन बुथ उपलब्ध गराएका छन् ।
उक्त बुथ काठमाडौँका व्यवसायी डिन्सन बोहोराले प्रदान गरेका हुन् । सोमवार रोटरी क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट इलेक्ट निर्मल भट्टराई नेतृत्वको टोलीले नगरपालिका कार्यालयमा उपप्रमुख पवित्रा महतरा र कार्यकारी अधिकृत पशुपति खतिवडालाई बुथ हस्तान्तरण गरेको हो ।
उपलब्ध ती बुथ मेची आँखा अस्पताल र कञ्चनजंघा नर्सिङ कलेजको होल्डिङ सेन्टरमा राखिने जनाइएको छ । ती होल्डिङ सेन्टरमा भारतबाट भित्रिएका नेपाली राखिएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै बुथ उपलब्ध गराइएको रोटरी क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट भट्टराईले बताए ।
व्यवसायी बोहोराले यसअघि झापामा सुरु भएको ‘एकका लागि एक’ अभियानमा पनि पाँच सयवटा भीटिम किट सहयोग गरिसकेका छन् ।