adv

ट्वीटरमा आयो नयाँ फिचर : प्रयोगकर्ताले आफूलाई मन लागेको बेला ट्वीटलाई सेड्युल गर्न सक्ने

काठमाडौं । ट्वीटरले आफ्नो प्रयोगकर्ताहरुको लागि नयाँ फिचर ल्याएको छ । ट्वीटरमा अब प्रयोगकर्ताले आफ्नो ट्वीट आफूलाई इच्छा लागेको बेला पोष्ट गर्नेगरी समय तालिकामा राख्न अर्थात् ‘सेड्युल’ गर्न सक्नेछन् ।

कुनैबेला तपाईं फुर्सदमा हुनुहुन्छ र केही कुरा ट्वीट गर्न चाहनुहुन्छ । तर तत्कालै मन फेरिन्छ वा मुड बदलिएर तपाईंलाई ट्वीट गर्ने जाँगर चल्दैन । अनि पछि कुनै बेला ट्वीट गरौँला भनेर पन्छिनुहुन्छ । तर केही समयपछि तपाईंले पहिले ट्वीट गर्न आँटेको कुरा वा फुरेका शव्दहरु बिर्सिनुहुन्छ । जसका कारण तपाईंले ट्वीटमा व्यक्त गर्न चाहेको महत्वपूर्ण विषय समेत फासफुस हुन्छ ।

तर अबचाहिँ यस्तो हुने छैन । किनकी माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना प्रयोगकर्ताका लागि दुई नयाँ फिचर ल्याएको छ । जसको सहयोगमा अब ट्वीटर प्रयोगकर्ताले आफूलाई विषय फुरेको बेला लेखेर मन लागेको बेला ट्वीट गर्न सक्नेछन् ।

त्यसका अलावा ट्वीटलाई ड्राफ्टमा पनि सेभ गर्न सकिनेछ र पहिले लेखिएको कुनै पनि कुरालाई ट्वीट गर्न सकिनेछ । नयाँ फिचर्सका बारेमा जानकारी दिँदै ट्वीटरले भनेको छ, अब वेब भर्सनमा ट्वीटर प्रयोगकर्ताले आफूलाई मन लागेको बेला ट्वीटलाई सेड्युल गर्न सक्नेछन् ।

कसरी गर्ने ?

यसका लागि ट्वीट गर्ने समय कम्पोज विन्डोमा तलपट्टि अन्य आइकन्ससँगै एक क्यालेन्डरको आइकन पनि देखिनेछ । त्यसमा क्लिक गरेपछि ट्वीट सेड्युल गर्न सकिनेछ ।

स्मरण रहोस् ट्वीटरले गत वर्ष नोभेम्बरमै सेड्युल ट्वीट फिचर परीक्षण गरिरहेको जानकारी दिएको थियो । त्यही फिचरलाई उसले आधिकारिक रुपमा लञ्च गरेको हो ।

त्यस्तै आफ्ना ट्वीटलाई ड्राफ्टको रुपमा सुरक्षित राख्ने नयाँ फिचर पनि प्रयोगकर्ताका लागि निकै उपयोगी हुने देखिन्छ । यदि तपाईंले कुनै ट्वीट अहिल्यै नगरी केही समयपछि गर्न चाहनुहुन्छ भने ट्वीट फुरेको बखत लेखिहालेर त्यसलाई ड्राफ्टमा राख्न सक्नुहुन्छ ।

यसका लागि ट्वीट कम्पोज गर्दा लेखिने कम्पोज विन्डोको माथि वायाँपट्टि देखिने क्रस आइकनमा क्लिक गर्नुपर्दछ । त्यसो गरिसकेपछि लेखेका कुरालाई ड्राफ्टमा सेभ गर्ने अप्सन आउनेछ र सोही अप्सनमा क्लिक गरेर आफूले अहिले लेखेका कुरालाई भविष्यमा ट्वीट गर्नका लागि सुरक्षित राख्न सकिन्छ ।

पुरानो ड्राफ्टलाई ट्वीट गर्नका लागि केबल कम्पोज विन्डो खोले पुग्दछ । त्यसपछि माथि दायाँपट्टि रहेको Unsent Tweets अप्सन देखिन्छ । त्यसमा क्लिक गरेपछि आफूले सेभ गरेका सबै ड्राफ्ट देखा पर्दछन् । तपाईंले ती ड्राफ्टबाट जुनसुकै छानेर सम्पादन समेत गरी ट्वीट गर्न सक्नुहुन्छ ।

ट्वीटरले उपलब्ध गराएका यी दुई फिचर करोडौँ ट्वीटर प्रयोगकर्ताले निकै नै मन पराउने पक्का छ ।

तर दुःखको कुरा यी नयाँ फिचर ट्वीटरको एन्ड्रोइड तथा आइओएस एपमा उपलब्ध छैनन् । तत्कालका लागि ट्वीटरको वेब भर्सनमा मात्र यी फिचरहरु प्रयोग गर्न सकिने ट्वीटरले जनाएको छ । –एजेन्सीको सहयोगमा

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु